काठमाडौ। नेपालमा एटीएम कार्डको पिन र पासवर्ड चोरेर बैंकको एटीएम बुथवाट रकम निकाल्ने विदेशी गिरोह निक्कै सक्रिय देखिएको नेपाल प्रहरीको अनुसन्धानवाट खुलासा भएको छ। त्यसरी नेपाली बैंकको एटीएम बुथवाट नक्कली एटीएम कार्ड बनाएर त्यसको पिन र पासवर्ड चोरेर नेपालीहरुको खुनपसिनाले संचित गरेका लाखौ रकम चोरी गर्ने विदेशी गिरोहलाई पक्रन पटक–पटक नेपाल प्रहरी सफल भएको छ।

atm-chor

विहीवार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) ले त्यसरी रकम झिक्ने दुईजना टर्किस नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुहरम युजन र सलहटिन यवर रहेका छन्। काठमाडौंको कान्तिपथस्थित एलो प्यागोडा होटलबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय यूरो, १६६० अमेरिकी डलर र विभिन्न बैंकका १ सय १३ ओटा एटीएम बरामद गरेको छ।

यो गिरोहले नबिल बैंकको कान्तिपथस्थित एटीएमबाट सो रकम झिकेको बयान दिएको पनि प्रहरी जनाएको छ। तीन सय ग्राहकको एटीएमको पिन नम्बर र पासवर्ड पनि फेलापारेको प्रहरीको भनाइ छ। उनीहरुले एटीएमबाट रकम झिक्ने र महँगा सामानहरु किन्ने गरेको पाइएको भन्दै प्रहरीले २७ लाख रुपैयाँ मूल्यपर्ने स्वीस घडीसमेत किनेको प्रहरीले जनाएको छ।

हालसम्म एटीएम ‘र्‍याकेटिङ’मा नेपालीको संलग्नता नभेटिएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत बन्न आग्रहसमेत गरेको छ। यसअघि गत साता पनि एटीएमको पिन र पासवर्ड चोरी गरेर रकम निकाल्ने रोमानियन र बुल्गेरियनको गिरोहलाई पक्राउ गरेको थियो।
प्रकाशन मिति–२०७३ साल कात्तिक २५ गते विहीवार ।