काठमाडौं। काठमाडौंको गौरब तथा शान रहेको ऐतिहासिक इन्द्रजात्रा भव्य–सभ्य तथा सुरक्षित रुपमा संचालन हुने भएको छ। यही असोज ५ गतेदेखि १२ गतेसम्म काठमाडौंको इन्द्रजात्रा भव्य–सभ्य तथा सुरक्षित रुपमा संचालन गर्नको लागि अन्तिम तयारी पूरा भएको हो।

यो बर्ष इन्द्रजात्रा भव्य–सभ्य तथा सुरक्षित रुपमा संचालन गर्नका लागि काठमाडौं महानगरपालिकाले नगद १० लाख अनुदान सहयोग गरेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले बताएका छन्।

इन्द्रजात्रा संचालनमा अघिल्ला बर्षमा नगद ७ लाख अनुदान सहयोग दिदैआएकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको पहलले थप ३ लाख सहयोग प्राप्त भएको र अक्षयकोष स्थापना गर्नको लागि नगद २ करोड दिने निर्णय भएको पनि अध्यक्ष शाक्यले भनेका छन्।

करिब ५ करोडको अक्षयकोष स्थापना गर्नका लागि काठमाडौं महानगरपालिकाका मेयर शाक्यको यो कार्य अत्यन्त सकारात्मक र ऐतिहासिक परम्परालाई जोगाउने ठूलो प्रयास भएको अध्यक्ष शाक्यको टिप्पणी रहेको छ।

काठमाडौं महानगरपालिका हनुमानढोका दरबार संरक्षण विकास समितिका प्रमुख उदयबहादुर पसखलःको अग्रतामा इन्द्रजात्रा संचालनको बारेमा गरिएको सार्वजनिक जानकारी कार्यक्रममा यो बर्षको इन्द्रजात्रामा विदेशी अति विशिष्ट पाहुनाहरुको समेत प्रमुख आतिथ्यता हुने बताइएको छ।

नेपालकी राष्ट्रपति, प्रधानमन्त्री लगायतको विशेष आतिथ्यता हुने इन्द्रजात्रालाई अझ व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी लगायत वडा अध्यक्षहरुको विशेष पहल र सक्रियता हुने भएको छ। प्रमुख अतिथि तथा विशेष अतिथिहरुलाई काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर लगायतका जनप्रतिनिधिहरुले भव्य स्वागत–सत्कार गरिने जनाएको छ।

विगत १५ सय बर्षदेखि चल्दैआएको इन्द्रजात्रा केवल नेवारको जात्रा नभइकन अव नेपालको र विश्वकै भएको काठमाडौं महानगरपालिका वडा नंंबर २५ का वडा अध्यक्ष नीलकाजी शाक्यको जिकिर रहेको छ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नंबर २३ का वडा अध्यक्ष मचाराजा महर्जनले मेयर शाक्यले काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा पर्याप्त बजेट बिनियोजित गरेको कारण काम गर्न अत्यन्त सहज र सरल भएको बताए।

जात्रा पर्वहरुका लागि मात्र बनाइने बाटोघाटो तथा तारहरुको समेत दीर्घकालिन व्यवस्थापन गर्न सवै वडाहरु स्थानीय तवरबाटै सक्षम भएकोले इन्द्रजात्रामा त्यस्तो कुनै समस्या आउन नदिने काठमाडौं महानगरपालिका वडा नंबर २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनको ठहर रहेको छ।

उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले जीवित देवी कुमारीको महिमा र गौरबता बोकेको इन्द्रजात्रा भव्य रुपमा चलाउन काठमाडौं महानगरपालिकाले नै यो बर्षवाट लागिपरेको उल्लेख गरेकी छन्। त्यसका लागि स्थानीय क्लव, पुचःखलः तथा संघ–संस्थाहरुलाई पनि परिचालन गर्ने कार्य काठमाडौं महानगरपालिकाले गर्ने उपमेयर खड्गीले भनेकी छन्।

विगत सात बर्षदेखि जीवित देवी कुमारीको रथ तान्ने कार्य एकदिन यो बर्ष पनि महिलाहरुले मात्र गर्ने भएको छ। अर्कोतर्फ साँखुवाट बाँसुरी टीमले पनि इन्द्रजात्रामा नयाँ आयामका रुपमा बाँसुरी बेग्लै प्रस्तुति दिने भएको छ।

इन्द्रजात्रामा श्रीकुमारी, श्रीगणेश र श्रीभैरबको रथयात्रा तथा लाखे र पुलुकिसी लगायतको विशेष आकर्षण रहने गरेको छ। जुन विश्वकै अतुलनिय जात्राको रुपमा लिइन्छ।
प्रकाशन मिति–२०७५ साल भदौ २८ गते विहीवार ।