ललितपुर । ललितपुरको दक्षिण भेग अवस्थित भुटेको तोरीको तेलका लागि विश्वविख्यात ऐतिहासिक नगरी खोकनाको अस्तित्व माथि नै आँच आउने कार्य भएको भन्दै खोकनावासी आन्दोलित बनेको छ।

पिता–पूर्खाको धरोहरलाई विकासका नाममा जग्गा–जमिन र पुर्ख्यौली थातथलो कब्जा गर्ने कार्य सरकारवाट भएको भन्दै खोकनावासीले विरोध गर्दै आएका हुन। पिता–पूर्खाको अमानतलाई जोगाउने क्रममा खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच शनिवार झडप भएको हो।

 उनीहरूलाई प्रहरीले रोक्न खोजेपछि बिहानैबाट तनाव बढेको थियो। केही स्थानीयवासीले प्रहरीलाई खेतमा पुग्नु अगाडि नै रोकेका थिए भने अरूले खानजोत सुरु गरेका थिए। रोपाइँमा ट्याक्टरको प्रयोग गरेर रोपाइँ गर्ने कार्य भएको थियो।

प्रहरीले रोपाइँ कार्यलाई बल प्रयोग गरेपछि स्थानीयले ढुंगामुढा गरेका थिए। भिडलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास हानेपछि दुवैतिर तनाब बढ्ेको थियो। जसवाट दुवैतिर केही घाइते पनि बनेका थिए। अस्तित्वको लडाईमा रहेका खोकनावासीलाई उपत्यकाका सवैतिरको समर्थन रहेको छ। सरकार वार्तावाट मिलाएर जानुभन्दा पेलेरै अगाडि बढ्ने पक्षमा देखिएको छ। जसको कारण समस्या जसको तस्तै बनिरहेको छ।

सरकार ऐतिहासिक नगरी खोकनावासीको अमूल्य निधि खोकना हुंंदै काठमाडौं–तराई फास्टट्राक, बाहिरी चक्रपथ र मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारण लाइन बनाउने तयारीमा छ। तर स्थानीयवासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन्।
प्रकाशन मिति–२०७७ साल असार २० गते शनिवार ।