Bhoto Jatraकाठमाडौ। काठमाडौं उपत्यकाको ऐतिहासिक भोटोजात्रा शुक्रबार सम्पन्न भएको छ। भोटोजात्रामा पहिलोपटक महिला राष्ट्राध्यक्षकोरुपमा विद्यादेवी भण्डारी सहभागी भइन्। सो उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, मन्त्रीहरु र सुरक्षाअंगका प्रमुखहरुले रातो मच्छिन्द्रनाथ र पाटनकी जीवित देवी कुमारीको दर्शन गरी भोटोजात्रा अवलोकन गरेका थिए।

रातो मच्छिन्द्रनाथको रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म बहुमूल्य मणि तथा रत्नजडित ऐतिहासिक भोटो देखाएपछि जात्रा सम्पन्न भएको हो। लोककथनअनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निकोपार्ने किसान वैद्यलाई उपहारस्वरुप रत्नजडित भोटो दिएका थिए। किसानले खेतको आलीमा राखी काममा व्यस्त भएकाबेला भोटो हराएको र पछि मच्छेन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा राक्षसले भोटो लगाएको देखेपछि किसानले भोटोमा दावी गरेका थिए।

Bhoto Jatra ma Bidhya Devi Bhandari

दुबैका बीचमा भोटो खोसाखोस गर्दै विवाद परेको थियो। पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न नसकेका कारण प्रमाण लिएर नआउन्जेल भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइएको किम्बदन्ती रहेको छ। सोही परम्पराअनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी देखाउने परम्परा रहँदै आएको छ।
प्रकाशन मिति–२०७३ साल साउन १४ गते शुक्रबार ।