काठमाडौं। काठमाडौं महानगरपालिका शहरी योजना आयोगले काठमाडौं महानगर क्षेत्रका विभिन्न शहरी योजना तय गरेको छ। विशेषत काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको समृद्ध र सुन्दर शहरको परिकल्पना अनुरुप त्यस कार्य भएको हो।

जसमा तन्नेरी प्रभावशाली १६ जना सिभिल तथा आर्टिटेक इञ्जिनियरहरुको अहोरात्र प्रयासवाट योजनाको प्रारुप तयार भएको शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले बताएका छन्। सदस्य सचिव बस्नेतका अनुसार, पहिलो चरणमा काठमाडौं महानगरपालिका वडा नंबर १ मा रहेको ऐतिहासिक महत्व र गरिमा बोकेको कमलपोखरी संरक्षण परियोजना तय भएको छ।

मल्लकालिन राजा राज्यप्रकाश मल्लको बेलामा बनेको ऐतिहासिक कमलपोखरीलाई मौलिकतालाई नबिग्रने गरी संरक्षण गरेर पुरातत्विक प्रारुप दिन काठमाडौं महानगरपालिका शहरी योजना आयोग तयार भएको छ। यस योजनावाट कमलपोखरीमा स्वदेशी तथा विदेशी पर्यटक निक्कै आकर्षित बन्ने तथा कमलपोखरी सम्पदा मार्गमा परिणत हुने जिकिर पनि सदस्य सचिव बस्नेतको रहेको छ। ठमेल जाने पर्यटक कमलपोखरी भएर जाने र फर्कनेहरु पनि कमलपोखरी भएर हाँडीगाउंं हुंदै भगवान पशुपतिनाथको दर्शन गर्न पुग्ने पदमार्गको रुपमा विकास हुने भएको छ।

त्यसको संपूर्ण इञ्जिनियरिङ प्रारुप तयार भैसकेको र कार्यन्वयनको लागि काठमाडौं महानगरपालिका शहरी योजना आयोगका अध्यक्ष समेत रहेका मेयर विद्यासुन्दर शाक्यलाई प्रारुप प्रतिवेदन हस्तान्तरण गरिएको छ। त्यसको अलावा काठमाडौं महानगर क्षेत्रका चल्खु, भाटभटेनी लगायतका सम्पदाहरुको प्रारुपको प्रतिवेदन पनि मेयर शाक्यलाई बुझाएको छ।

शहरी योजना आयोगले बुझाएको प्रारुप प्रतिवेदन अनुरुपका सवै कार्य चांडै नै थालनी गरिने मेयर शाक्यले बताएका छन्।
प्रकाशन मिति–२०७५ साल असोज २७ गते शुक्रबार।