काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार सफलतापूर्वक दोश्रोपल्ट मिर्गौला प्रत्यारोपन भएयता स्वास्थ्यलाभ भैरहेको छ। नयाँ मिर्गौलाले राम्ररी नै कार्य गरिरहेको ओलीको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ। एकहप्ता प्रधानमन्त्री ओली अस्पतालमा नै चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा नै रहने भएको छ।

१२ बर्षअघि प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने अञ्जना घिमिरे हुन भने, यसपालि मिर्गौला दिने दाताको नाम समीक्षा संग्रौला हो। समीक्षा नाताले ओलीको भान्जी हुन। यसलेगर्दा समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवातजावत थियो। ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्री निवास वालुवाटारमा पुगिरहन्थिन्। त्यहीबीचमा ओलीको १२ बर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो।

ओली पटक पटक विरामी पर्न थाले। प्रधानमन्त्रीलाई बीचबीचमा रगत चढाउनुपर्ने अवस्था पनि आयो। प्रधानमन्त्रीको रगत ‘ओ नेगेटिभ’ अर्थात दुर्लभ समूहमा छ। संयोगले समीक्षाको पनि ओ नेगेटिभ नै भएको नयाँ पत्रिका दैनिकले लेखेको छ। त्यसैले समीक्षाले मामालाई रक्तदान पनि गरिन। तर ओलीको मिर्गौलाको कार्यक्षमतामा निरन्तर ह्रास आयो। अन्ततः मिर्गौला प्रत्यारोपण गर्ने टुंगो भयो।

तर, कसको मिर्गौला लिने भन्ने विषयमा छलफल भयो। रक्तदान गर्दै आएकी समीक्षा तयार भइन । हुन त अन्य पनि इच्छुक थिए। तर नाता र स्वास्थ्यका हिसाबले समीक्षाको मिर्गौला छनोट भयो।

मिर्गौला दान गर्ने निर्णय गर्दा समीक्षाले प्रधानमन्त्री निवास बालुवाटारमा भनेकी थिइन्–,‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिंडेको नेता हो। त्यसैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान दिने निर्णय गरेकी हुँ।’

समीक्षाका पति नेपाली सेनामा कार्यरत छन् । उनीहरुका एक छोरा र एक छोरी छन्। मामा प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिएर नयाँ जीवन दिने समीक्षाको स्वास्थ्य पनि राम्रो रहेको पनि ओलीको उपचारमा संलग्न चिकित्सकहरुले भनेका छन्।
प्रकाशन मिति–२०७६ साल फागुन २२ गते विहीवार ।