काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार शक्ति प्रदर्शन गरेको छ। अघिल्लो हप्ता प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको शक्ति प्रदर्शनको काउन्टरमा ओली नेतृत्वले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो।

ओली पक्षले दरवारमार्ग स्थित नारायणहिटी दरबार अगाडि शक्ति प्रदर्शन गरेका थिए। बागमती प्रदेशको आयोजनामा भएको शक्ति प्रदर्शनमा बागमती प्रदेशका ओली पक्षका प्रदेश सांसदहरुको प्रभावशाली अगुवाई रहेको पाइयो। बागमती प्रदेशका लोकप्रिय सांसदव्दय डाक्टर अजयक्रान्ति शाक्य र राजेश शाक्यले काठमाडौं क्षेत्र नंबर ९(क) र ८(क) को नेतृत्व गरेर अगाडि बढ्दा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको पनि साथ र अगुवाइ पाएपछि रौनकता बढे्को थियो।

बागमती प्रदेशका सवै अगुवा नेताहरु सहित नारायणहिटी दरबारअगाडि पुगेपछि आमसभा भएको थियो। नेकपाले नारायणहिटी दरबारको गेट अगाडि बाटोमै मञ्च तयार गरेको थियो । आमसभाका लागि दरबारमार्गका बिजुलीका पोलहरुमा प्रधानमन्त्रीको तस्बिर टाँगिएका थिए । आमसभामा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए।

प्रकाशन मिति–२०७७ साल माघ २३ गते शुक्रवार ।