काठमाडौ। केपी शर्मा ओली नेतृत्वको सरकारसंग सत्ता साझेदार बनेदेखि विभिन्न बखेडा निकालेर किचकिच गर्दैआएको नेकपा माओवादी केन्द्रले अन्तत सत्ता साझेदारीवाट अलग हुने निर्णय गरेको छ। निर्णयसंगै ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले मंगलवार समर्थन फिर्ता लिएको भन्दै सरकारवाट बाहिरिएको घोषणा गरेको छ।

KP Oli with Prachandaमाओवादी केन्द्रले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेको छ। माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपाली कांग्रेसले पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन लिखित प्रतिबद्धता जनाइसकेको दाबी गरे। महराले पहिलो चरणमा केही समयका लागि दाहाल प्रधानमन्त्री बन्ने बताए।

आन्दोलनरत् मधेसी दललाईसमेत सरकारमा सामेल गरेर सहमति खोज्ने गरी माओवादी केन्द्र र नेपाली कांग्रेसबीच छलफल भइरहेको बुझिएको छ। माओवादी केन्द्रले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराएका छन्। उनीहरुले सरकारबाट बाहिरिने निर्णयको पत्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई बुझाएका हुन्।

माओवादी केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा ९ बुँदे सहमति र तीन बुँदे भद्रसहमति कार्यान्वयन नभएकोले राजनीतिकरुपमा सरकारमा बसिरहन नमिल्ने भन्दै समर्थन फिर्ता लिएको उल्लेख छ।
प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।