काठमाडौं। पानी बारबार जस्तो भैसकेको नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल वीच लामो समयको वाकयुद्ध पश्चात पार्टी कार्यालयमा भेटवार्ता भएको छ। पूर्ववत नेकपा एमाले भएपछि ओली र नेपाल वीच पार्टीको पूर्ववत धुम्बाराही कार्यालयमा सोमवार भेट भएको हो।

भेटमा शीर्ष नेताहरुवीच पार्टीलाई व्यवस्थित र एकतावद्ध बनाएर लैजाने विषयमा छलफल भएको उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वताएका छन्। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले पार्टीलाई जेठ २ गतेकै अवस्थामा पुऱ्याएको उल्लेख गर्दै पोखरेलले भने, ‘अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएको छ । आजको बैठकमा तीनै कुरामा छलफल भयो । अदालतको फैसलापछि नेकपा एमालेलाई पुनर्जीवन प्राप्त भएको छ । हामी २०७५ साल जेठ २ गतेको अवस्थामा पुऱ्याएको छ ।’

फागुन २८ गते ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकको निर्णयप्रति नेपाल समूहले आपत्ति जनाएको विषयमा भने महासचिव पोखरेलले भने, ‘२८ गते मात्रै होइनन्, यसअघि कात्तिक २३ गतेको आरोपपत्र, अर्याल होटेलमा भएका छलफललगायतका विषयमा पनि समीक्षा हुन जरुरी छ। यसबीचमा अनेक बैठकहरु भएका छन्, त्यसबारेमा पनि कुरा उठेको छ । तर नेकपा एमालेलाई थप सशक्त र एकताबद्ध बनाएर लैजाने भन्ने बैठकको साझा निष्कर्ष हो ।’

विगतमा सबै पक्षबाट भएका कामको समीक्षा आगामी दिनमा हुने उल्लेख गर्दै महासचिव पोखरेलले भने, ‘विगतमा गरिएका कामहरुको समीक्षा गर्नेछौं । आजको बैठकमा नेकपा एमाललेलाई पाएको अवसरलाई कसरी उपयोग गर्ने भन्ने विषयमा छलफल भयो। कतिपय समीक्षा गर्नुपर्ने कुराहरुका बारेमा पछि पनि छलफल गर्न सकिन्छ ।’

छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्बाङसहितका नेताहरू सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी थिए । ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने चैत ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीच टकराव उच्च थियो। ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो। नेपाल समूहले आइतबार निर्वाचन आयोग पुगेर ओलीको निर्णय आधिकारिक नभएको भन्दै पत्र बुझाएको थियो।

प्रकाशन मिति–२०७७ साल चैत्र २ गते सोमवार ।