Prime Minister Office of Nepalकाठमाडौ। नेपालका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये राजनीतिक दलको कोटाबाट गएकाहरुको नाम वर्तमान सरकारले फिर्ता लिएको छ। प्रचण्ड प्रधानमन्त्री बनेपछि शुक्रवार बसेको दोस्रो मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको हो।

संसदीय सुनुवाई विशेष समितिमा प्रस्ताबित राजदूतहरुको सुनुवाई शुरु भइसके पनि सरकारले अघिल्लो सरकारको निर्णय उल्ट्याएको हो। सुनुवाई समितिले परराष्ट्र मन्त्रालयका सहसचिवहरुमध्येबाट राजदूत सिफारिस भएकाहरुको सुनुवाई गरिरहेको थियो। उनीहरुको सिफारिस भने फिर्ता भएको छैन। राजनीतिक दलको कोटाबाट सिफारिस भएकाहरुको सुनुवाई नहुदै सरकारले सिफारिस फिर्ता लिएको हो। फिर्ता भएकामा माओवादी केन्द्रका पनि छन् ।

परराष्ट्रका सहसचिव बाहेक १४ जना राजनीतिक व्यक्तिहरु राजदूतका लागि सिफारिस भएका थिए। सिफारिस भएका २२ राजदूतमध्ये अन्य परराष्ट्र सेवाका हुन्।जसमा एमालेबाट महेन्द्रवहादुर पाण्डे, डा.खड्गवहावदुर केसी, नाराद भारद्वाज वाग्ले,डा.शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की छन्। माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्र प्रसाद सिंह र पदम सुन्दास छन् । खगेन्द्र बस्न्यात, निरन्जन थापा, शर्मिला पराजुली ढकाल र भरतबहादुर रायमाझीको नाम पनि फिर्ता भएको छ।

यी मध्ये थापा र रायमाझी राप्रपा नेपालको कोटाका हुन् भने बस्न्यात राप्रपा र पराजुली बिजय गच्छदारको पार्टीबाट सिफारिस भएका हुन्। उनीहरुको नाम गत बैशाख ७ गतेको मन्त्रिपरिषद बैठकले बिभिन्न देशको राजदूतका लागि सिफारिस गरेको थियो। अन्य ८ सहसचिवको भने सुनुवाई निरन्तर हुनेछ । सहसचिवबाट प्रस्ताबित राजदूतमा सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झविन्द्रप्रसाद अर्याल, दुर्गावहादुर क्षेत्री र लोकवहाबहादुर थापा सिफारिस भएका थिए।
प्रकाशन मिति–२०७३ साल साउन २१ गते शुक्रबार ।