काठमाडौं। नुवाकोटको पर्यटकीय क्षेत्र ककनीको पर्यटन प्रमोसनका लागि लामो समयदेखि क्रियाशील संस्था ककनी पर्यटन प्रवद्र्धन समाजले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
ककनीका स्थानीय तथा विभिन्न उद्योग व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै ककनीको पर्यटन प्रवद्र्धका लागि आफ्नो क्षेत्रबाट सबैले सक्दो सहयोग गर्नुपर्ने विषयमा विभिन्न नेता, समाजसेवी, उद्योग व्यवसायी लगायतले भनाइ राखेका थिए।

प्रदेश तीनकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्य तथा सांसद बद्री मैनालीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो। आयोजक समाजका महासचिव अम्बर लामाले ककनी नगरकोटभन्दा पनि पहिलेदेखि पर्यटकीय क्षेत्रका रुपमा परिचित भएपनि त्यसको उचित प्रवद्र्धन तथा प्रचारप्रचारको कमीले गर्दा पछि परेको बताए । त्यसैगरी समाजकी उपाध्यक्ष सोममाया तामाङले ककनीमा भएका विभिन्न ऐतिहासिक संरचना जीर्ण भएकाले सबैले त्यसमा ध्यान दिनुपर्ने बताइन् । ककनी प्राकृतिक रुपमा पनि निकै नै सुन्दर भएकाले आगामी पर्यटन वर्ष २०२० मा ककनीमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्य समाजको रहेको बताइन् ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रममा कार्यक्रममा काठमाडौ, चाबाहिलमा स्थित रिभेरा इन्टरनेसनल एकेडेमी का कक्षा ५ मा अध्ययन गर्ने साना बालिकाहरुले बैदेशिक रोजगारमा गएर पीडा बोकेका नेपाली समाजहरुको तितो यथार्थलाई गीति नाटक प्रस्तुत गरेका थिए । पल्पसा दवाडी, लाक्पा शेर्पा, बियान्सा गुरु, सलिना खड्का, सुमिना गेलाल, प्रयास दवाडी तथा प्रियान्सा गुरुङ्ग अभिनित उक्त गीति नाटकले दर्शक सबैको मन छुन सफल भएको सहभागीहरूको भनाइ छ। कार्यक्रमको संचालन मिसेस गोलोवल नेपाल २०१८ सेकेन्ड रनरअप सिस्मा कार्कीले गरेकी थिइन्।
प्रकाशन मिति–२०७६ बैशाख ५ गते विहीवार ।