काठमाडौ। नील शाक्य नेपालभाषाको सांगीतिक क्षेत्रमा अचेल नामै काफी मानिन्छ। नील शाक्य नाम जस्तै रहेको छ। नेपालभाषामा दर्जनौ दर्जन गीतमा संगीत दिनुको अलावा गीत गाएर पनि त्यतिकै वाहवाही कमाउंदै आएका कलाकार हुन्।

विगत अढाई दशकदेखि नेपालभाषाको सांगीतिक क्षेत्रमा दत्तचित्त भएर लागिपरेका नील तकडा अभिनेता पनि हुन्। नेपालभाषामा प्रसारणको ऐतिहासिक रेकर्ड नै राख्न सफल हाँस्यसिरियल ख्वताबजीमा मन्त्री देखि भरियासम्मका बेजोड अभिनय गरेर सवैलाई कायल पार्ने कार्य पनि नील शाक्यवाट भएको छ।

अर्कोतर्फ नील शाक्यको पुस्तेनी व्यवसाय कठिन भन्दा कठिन थाङ्का आर्ट हो। थाङ्का आर्ट गर्नु र यसलाई चीनको तिब्बतसम्म व्यापार व्यवसाय विस्तार गर्ने कार्यवाट मिलेको फुर्सदलाई नेपालभाषाको संगीत तथा अभिनयमा उपयोग गर्ने गर्दैआएको बताउंछन्।

यसलेगर्दा पनि नील शाक्य मल्टीट्यालेन्टेट स्टारको रुपमा रहेको प्रतिक्रिया नेपालभाषाका ख्यातिप्राप्त चलचित्र निर्देशक तथा अभिनेता सुरेन्द्र तुलाधरले दिएका छन्। अढाई दशक लामो कला यात्रामा अनवरत लाग्दैआएका नील शाक्यले सयौं मान–सम्मान पनि प्राप्त गरिसकेका छन्। कला नै जीवन हो भनेर उनले भनेका छन्।
प्रकाशन मिति–२०७४ साल माघ १५ गते सोमवार ।