काठमाडौ। नेपालको मौलिक चर्या नृत्य तथा कठिन भन्दा कठिन भैरबी डान्सलाई पनि सहज ढंगवाट विदेशमा प्रस्तुत गरेर नेपाल र नेपालीलाई चिनाउने कार्य भएको छ। त्यो कार्यमा विशेषत नृत्यका कलाकार अग्रपंक्तीमा रहेका छन्। त्यसकार्यमा नेपालकी ट्यालेन्टेट नृत्य कलाकार सपना महर्जन पनि एक हुन्।

सपना महर्जन विगत दश बर्षदेखि निरन्तर नृत्यमा आफ्नो खुवी र ट्यालेन्ट देखाउने कार्यमा स्वदेश तथा विदेशमा सक्रिय रहेकी छन्। भेटरान नृत्य निर्देशक यज्ञमान शाक्य तथा साजन श्रेष्ठसंग परम्परागत मौलिक नृत्य सिकेर यसलाई व्यवसाय नै बनाउने कार्यमा सपना सफल बनेकी छन्।

काठमाडौको चन्द्रागिरी नगरपालिका वडा नंबर १४ नयाँ नैकाप निवासी सपनाको बास्तविक नाम सपना देवी सिं महर्जन हो। नाम अलिकति लामो भएको कारण आफैले आफ्नो नामलाई छोटो बनाएर केवल सपना महर्जन बनाएकी उनी नेपाली नृत्य कलाकारितामा सपना महर्जनको नामवाटै बढी चिनिएकी छन्।

नृत्य कलाकारिताको अलावा फुड एण्ड बेभरेज र मार्केटिङ व्यवसायमा पनि पोख्त सपनाले गोल्डेन फ्लावर सेकेण्डरी स्कुल, न्यू भिजन एकेडेमी तथा इकेडा इन्टरनेशनल स्कुलहरुमा डान्स टिचर भएर पनि कार्य गरिसकेकी छन्। एभरेष्ट नेपाल कल्चरल ग्रुपको लाइफ मेमवर समेत रहेकी सपनाले पाँचौ इन्टरनेशनल फोल्क फेस्टिभल तथा नवौ इन्टरनेशनल फोल्क फेस्टिभलमा सहभागिता जनाइसकेकी छन्।

चीन, दक्षिण कोरिया लगायत दर्जनौ युरोपियन मुलुकमा भएका विभिन्न कल्चरल प्रोग्रामहरुमा आफ्नो कलाकारिता प्रस्तुत गरेर तहल्का मचाउने कार्य सपनावाट भैसकेको छ। नृत्य नै आफ्नो कलाकारिताको ज्यान भएको बताउने सपना नृत्यवाटै देशलाई चिनाउने प्रतिवद्धता व्यक्त गर्छिन्।


प्रकाशन मिति–२०७४ साल माघ १६ गते मंगलवार ।