काठमाडौं। कोरोनाको संक्रमणवाट कतारमा शनिबार एकैदिनमा मात्रै ५ हजार २ सय ३५ जना निको भएका छन्। कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएअनुसार, पछिल्लो २४ घण्टाको नतिजा अनुसार यो निको हुनेको यो संख्या हालसम्म कै उच्च संख्या हो। निको हुनेमा अधिकांश नेपाली कामदार छन्।

संक्रमितमध्ये १९ देखि ४० वर्षका युवा कामदार रहेकोले निको हुनेको संख्या पनि उच्च देखिएको हो। कतारमा हालसम्म २५ हजार ८ सय ३९ जनालाई निको भइसकेको छ। मे १९ सम्मको रिपोर्ट अनुसार ६ हजार ९ सय ११ जना नेपाली कामदारलाई कोरोना पोजिटिभ देखिएको हो । कतारमा संक्रमित हुने समुदायमा नेपाली दोस्रोमा पर्छ। सबैभन्दा बढी भारतीय समुदाय देखिएको छ।

मृत्युदर भने एकदमै कम छ। हालसम्म ३६ जनाको मृत्यु भएको छ। जसमा ३ जना नेपाली कामदार रहेका छन्। कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धजले कतारले हार्दिकताका साथ सबै बिरामीलाई आफ्नो नागरिक सरह उपचार गरिरहेको कान्तिपुर दैनिकको अनलाइन संस्करणलाई बताएका छन्।

‘बिना भेदभाव अन्तर्राष्ट्रिय स्तरको उपचार भइरहेको छ । जसले गर्दा निको हुने संख्या पनि बढिरहेको हो । निको हुने पछिल्लो नतिजाले समुदायमा ठूलो हर्ष बढाएको छ,’ राजदूत भारद्धज भनेका छन्।
प्रकाशन मिति–२०७७ साल जेठ १७ गते शनिवार ।