नवलपरासी। पश्चिम नेपाल स्थित कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू पूर्ण रुपमा हटाएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू पटक पटक गरी मंगलबार विहान ६ बजेदेखि पूर्ण रुपमा हटाएको हो।

पछिल्लो पटक सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो। मंगलबार विहान अर्को सूचना प्रकाशित गरी दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो। त्यसपछि भने पूर्ण रुपमा कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई समुदायबीच विवाद भएपछि सम्भावित दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो।

विवाद भएपनि आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो। कर्फ्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ६ गते मंगलवार ।