काठमाडौं। काठमाडौ महानगरपालिका वडा नंबर १ स्थित कमलपोखरी हिमाल अस्पतालनेरको आँगन रेष्टुरेन्टमा राखिएको प्रेसर कुकुर बम आज राति ८ बजे नेपाली सेनाले डिस्पोज गरिएको छ।

भगवान महावीर जैन निकेतनको भवनमा संचालित आँगन रेष्टुरेन्टमा अज्ञात तत्वले राखिएको भनिएको प्रेसर कुकर बमले त्यो क्षेत्रमा राति ७ बजेदेखि नै आतंक फैलिएको थियो। वरपरको सवै पसल बन्द गराएर सडकको आगमन नै बन्द गराएर नेपाली सेनाले उक्त प्रेसर कुकुर बम डिस्पोज गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

त्यसैगरेर, ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि ठूलो आवाजका साथ बम विस्फोट भएको छ। आज शुक्रवार राति नै भएको उक्त बम विस्फोटमा परेर तीन जना बटुवा घाइते भए भने नजिकैका घर तथा पसलका शिशा समेत फुटेको प्रहरीले भनेको छ। प्रहरीका अनुसार, घाइते हुनेहरुमा प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुषा मानन्धर रहेका छन्।

घाइते काभ्रेकी २५ वर्षीया उरुषालाई मेडिसिटी अस्पताल, बाग्डोलकी २६ वर्षीया प्रतिक्षालाई अल्का अस्पताल र लमजुङका ४९ वर्षीय सिंहप्रसादलाई बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यसमध्ये प्रतिक्षा र सिंहप्रसादलाई मेडिसिटीमै रिफर गरिएको छ। घाइते उरुषा मेडिसिटी अस्पतालकै नर्स हुन्।

घाइतेमध्ये सिंहप्रसाद र प्रतिक्षाको स्थिति गम्भीर रहेको प्रहरीले भनेको छ। कमलपोखरीको प्रेसर कुकर बम र नख्खुको बम विस्फोटन वारेमा व्यापक अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ।
प्रकाशन मिति–२०७५ साल फागुन १० गते शुक्रवार ।