काठमाडौं। नेपालका कमेडी किङ ख्यातिप्राप्त हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ आफू जड्याँहाको शरीरमाथि बसेर हिडे्को जस्तो अनुभव हुने गरेको बताएका छन्। आर्यम नकर्मी निर्देशित चलचित्र सनाखतको शुभमुहर्त समारोहमा मंगलवार कमेडी किङ श्रेष्ठले उक्त अनुभव भनेका हुन्।

केही बर्षअघि देखि पार्किन्स रोगवाट पीडित भएको कारण आफ्नै शरीर आफ्नो लागि जड्याँहाको शरीरजस्तो हल्लिएजस्तो र लडिएला जस्तो अनुभव हुने गरेको यथार्थता सुनाएका छन्। अरु टिल्ल जाँड खाएर हल्लेर जान्छ। आफूले त जाँड नखाएपनि हल्लेर हिंड्नु परको तितो यथार्थताको कारण आफू जड्याहाको शरीरमा चढ्ेर हिंडे्को जस्तो नमिठो अनुभव हुने गरेको कमेडी किङ श्रेष्ठको भनाई छ। यसलेगर्दा चाहेर पनि कतिपय चलचित्रहरुमा आफूले टाइम दिन नसकेको वास्तविकता पनि श्रेष्ठले भनेका छन्।

कमेडी किङ श्रेष्ठ हिरो भएको चलचित्र सनाखतको शुभमुहर्त–सटमा पत्नीको भूमिका गर्दैगरेकी अभिनेत्री नारायणदेवी प्रधानलाई आफू पहिला मरेर जाने भन्दै गर्छन्। श्रीमती भन्दा पहिला श्रीमान वितेमा त्यो श्रीमतीले छोरा–बुहारी, छोरी–ज्वाई सवैको माया पाउने र श्रीमान भन्दा पहिला श्रीमती वितेमा त्यो श्रीमानले कसैको पनि माया नपाउने तथा एक्लो बन्ने गरेको सामाजिक यथार्थता ओकल्दा सवैको आँखामा आँशु आएको थियो। कमेडी किङ श्रेष्ठको छोरी सराना श्रेष्ठ र बुहारी रिंकु बज्राचार्य श्रेष्ठको पनि आँखा रसाएको थियो।

केही बर्षअगाडि मात्र कमेडी किङ श्रेष्ठको पत्नी यशोदा श्रेष्ठको दुःखद निधन भएको थियो। पत्नी वियोगमा रहेका कमेडी किङ श्रेष्ठले त्यस्तो डाइलग बोल्नुपर्दा अत्यन्त कठिनता महशुश भएको थियो। सामाजिक विचलन जस्तोसुकै भएतापनि कमेडी किङ श्रेष्ठको जीवनमा त्यस्तो समस्या भने भोग्नु परेको छैन्। पत्नी वियोग पश्चात अझ धेरै छोरा–बुहारी, छोरी–ज्वाई सवैको माया पाएको छ।
प्रकाशन मिति–२०७६ साल कात्तिक २८ गते विहीवार ।