ललितपुर। कम्प्युटर तालिमको आवश्यकता र महत्वलाई मध्यनजर गरेर दुई महिने बेसिक तथा ४५ दिने एडभान्स कम्प्युटर तालिम ललितपुरमा संपन्न भएको छ।

पाटनढोका स्थित इन्ष्टिच्यूट अफ कम्प्युटर सफ्ट वेयरको आयोजना तथा ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा, सामुदायिक विकास शाखाको सहयोगमा तालिम कार्यक्रम भएको हो। तालिममा सहभागी ५० जना प्रशिक्षार्थीहरुलाई समापन समारोहमा प्रमाण–पत्र प्रदान गरिएको छ।

प्रमाण–पत्र वितरण समारोहको कार्यक्रम संचालक समेत रहेकी ललितपुर महानगरपालिका सामुदायिक विकास शाखाकी शाखा अधिकृत सरिता महर्जनले तालिमलाई जीवनपयोगी बनाउनु पर्ने तथा प्रमाण–पत्रलाई भित्तामा टांग्ने बस्तुको रुपमा मात्र प्रयोग गर्न नहुने प्रशिक्षार्थीहरुलाई सुझाव दिएकी छन्।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद दहालको प्रमुख आतिथ्यतामा भएको प्रमाण–पत्र वितरण समारोहमा ललितपुर महानगरपालिका सामाजिक विकास समितिका संयोजक दिनेश कार्की र ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाका बरिष्ठ अधिकृत प्रेमबहादुर थापाले कार्यक्रमको आवश्यकता–महत्व र यसको उपयोगिताको बारेमा उल्लेख गरेका थिए।

कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फवाट सुनिता शाक्य र सनम शाक्यले तालिम आफूहरुलाई अति उपयोगी बनेको तथा यसलाई रोजगारीको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरे। तालिम प्रशिक्षक नविन डंगोलले प्रशिक्षार्थीहरुलाई तालिम दिदाको अनुभव सुनाएका थिए। तालिमवाट ५० जना प्रशिक्षार्थीहरु लाभान्वित बनेका छन्।


प्रकाशन मिति–२०७५ साल जेठ १ गते मंगलवार ।