Shailesh Shrestha

–शैलेश श्रेष्ठ (अमेरिका)।
नेपाली चलचित्र उद्योगमा डेढ दशक “करिश्मा” देखाएकी करिश्मा मानन्धर अहिले राजनीतिको बिरानो बाटोमा परिक्षण यात्रा तय गरिरहेकी छिन जुन सहज छैन तर सम्भब भने छ|नेपाली चलचित्र जगतकी सदाबहार नायिका भनेर जनिने नयाँ शक्ति मार्फत नयाँ राजनैतिक अवतार लिएकी करिश्मा मानन्धरले अहिले आफु माथि हिंशा भएको कुरो सार्वजनिक गरेकी छन|

यथास्थितिबादको पक्षपोषण गर्दै बनिबनाउ समाज अनि राजनीतिमा रमाउनेहरुले नयाँ विचार, नयाँ सोंच अनि आमुल परिवर्तन मन पराउँदैन|उनि समाज अनि मुलुकलाई नै आमुल परिवर्तनको अभिष्ट राख्ने पार्टीमा सक्रिय भएकोले नै उनको यो स्तरमा बिरोध भएको हो भनेर उनले बुझ्नु पर्दछ| नयाँ शक्तिमा नगएर उनि अहिले ठुला भनिएका बनिबनाउ कुनै दलमा प्रवेश गरेको भए उनको न यति चर्चा हुन्थ्यो न त उनले भने जस्तै उनि माथि हिंशा नै हुन्थ्यो|

Karishma Manandhar in Naya Shakti 1

हुन पनि बिनासित्तीमा बेतुकका कुतर्कहरु निकालेर उनि माथि प्रहार भएको छ| नयाँ शक्ति पार्टीको घोषणा सभामा उनले गरेको उद्घोषणको आवश्यकता भन्दा निकै बढी आलोचना भएको छ| एक जना अराजनैतिक अनि सामान्य शैक्षिक योग्यता भएको मान्छेलाई त्यस्तो गरुङ्गो जिम्मेवारी किन दिईयो त्यो डा. बाबुराम भट्टराई नै जानुन तर करिश्माको स्तर अनि औकात दुनियालाई थाहा नभएको कहाँ हो र ?

कमसेकम उनले राजनीति मार्फत समाज अनि देशको सेवा गर्छु भनेर अगाडी आएकी छिन त्यो उनको स्तुत्य प्रतिबध्दतालाई चाँही हामीले क्या बात भन्नै पर्छ|

पार्टीको झण्डा मुनि ओत लाग्ने उनि एक्ली कलाकार होइनन| माओबादीको दिन फिरेकी बेला मौसमी मल्ल, युबराज लामाहरु मात्र होइन नीर शाहहरु पनि मुठ्ठी उचालेर पार्टी नजिक पुगेकै हुन भने अर्की नायिका रेखा थापाले पुष्प कमल दाहालसंग कम्मर मात्र मर्काईनन बरु आफ्नो बैचारिक निकटता पनि सार्वजनिक गरिन | नेपाली कांग्रेसको महाधिबेशनमा चारतारे सारी चोलीमा अभिनेत्रीहरुको लाईन सार्वजनिक भएकै हो| यता एमालेमा पनि सयौं कलाकार खुलेरै “सुर्य छाप” मार्का बनेकै छन अब करिश्मा मानन्धरले नयाँ शक्तिमा आफ्नो भबिश्य जोड्नु चाँही के पाप भो र ? आफ्नो लोकप्रियताको परिक्षण गर्न अनि आफ्नो महत्वाकांक्षा पुरा गर्न कलाकारले राजनीतिमा प्रवेस गर्ने लहर भारतमा पनि एक ताका खुब चल्यो|

त्यसताका अमिताभ बच्चन, बिनोद खन्ना, सत्रुघन सिन्हा, जय प्रदा, हेमा मालिनी, राज बब्बर, गोबिन्दा, सवाना आजमीहरुले परिक्षण गरे केहि टिके भने अधिकांश चलचित्रमै फिर्ता आए | आखिर जहाँ पनि मानिसको बौद्धिकता र शैक्षिक योग्यताले नै उसको भबिश्यको निर्क्यौल गर्ने गर्दछ| भारतीय राजनीतिमा पनि थुप्रै कलाकारहरु सो पिस मात्र बनेर बसे तर सवाना आजमी संधै महिला मुक्ति अनि सामाजिक न्यायको लडाईमा उम्दा अनि उदाहरणीय बनेर रहिन| अब करिश्मा मनाधरमा पनि त्यहि चुनौती छ उनि नयाँ शक्तिको “पब्लिसिटी स्टन्ट” अथवा “सो पिस” मात्र बनेर बस्छिन कि सामाजिक जागरण, चेतना, लैंगिक मुक्ती अनि सामाजिक न्यायको बाटोमा आफ्नो बैचारिक करिश्मा प्रदर्शन गर्न सक्षम हुन्छिन?

(लेखक शैलेश श्रेष्ठ लामो समय देखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दैआउनु भएको छ। नेपाली रंगमञ्च र चलचित्रको अभिनयमा बेग्लै छाप राख्न सफल कलाकार समेत रहेका लेखक श्रेष्ठ अमेरिकामा झुझारु संचारकर्मीका रुपमा समेत लिइने गरेको छ। लेखक श्रेष्ठको समसामयिक यो नीजि विचारलाई विना सम्पादन जस्ताको तस्तै प्रस्तुत गरिएको छ।)

प्रकाशन मिति–२०७३ साल असार ७ गते मंगलबार ।