काठमाडौं। नेपाली कथानक चलचित्र करोडपतिको निर्देशन गरेर सदावहार नायक भुवन केसीलाई सुपरस्टार बनाउने निर्देशक किशोर रानाको निधन भएको छ। निर्देशक रानाको ५४ बर्षको उमेरमा ललितपुरको निदान अस्पतालमा बुधवार भएको हो।

डेढ वर्षअघि मात्रै मृगौला फेरिएका निर्देशक रानाको निमोनियाका कारण उपचारको क्रममा दुःखद निधन भएको पारिवारिक स्रोतले जनाएको छ। निर्देशक रानाका भाइ तथा चलचित्रकर्मी रञ्जित रानाका अनुसार सोमबार मात्रै निर्देशक रानालाई अस्पताल भर्ना गरिएको थियो।

चलचित्र ‘कर्जा’ बाट नेपाली चलचित्रको निर्देशन गरेका निर्देशक रानाका ‘सीमारेखा’, ‘करोडपति’, ‘राँको’, ‘एक नम्बरको पाखे’, ‘सन्तानको माया’, ‘मिस्टर मंगले’, ‘चक्र’, ‘प्रतिविम्ब’ लगायतका चलचित्र हिट लिष्टमा रहेका छन्। निर्देशक रानाले निर्देशन गरेको भोजपुरी फिल्म ‘कब होई मिलनवा हमार’ पनि व्यावसायिक हिसाबबाट चर्चामा आएको थियो ।

झन्डै डेढ दशक बलिउडमा समेत काम गरेका निर्देशक रानाको जन्म सुनसरीमा भएको थियो । पुख्र्यौली भने गुल्मी हो । ख्यातिप्राप्त गायिका संगिता प्रधान राना निर्देशक रानाको पत्नी हुन् । निर्देशक राना एक छोरा छन् । जो भारत बैंगलोरमा अध्ययनरत रहेका छन्। छोरा विहीबार काठमाडौं आइपुग्ने र शुक्रबार मात्रै अन्तेष्टी गरिने निर्देशक रानाका भाइ रञ्जित रानाको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल भदौ ५ गते विहीवार ।