Photo By-Rekha Shakya(Rajamati)

काठमाडौ। जात्रा नेपालको आयोजना तथा सुखावती मल्टी प्रोडक्सनको कार्य संयोजन तथा सर्वहित नेपालको सहकार्यमा इन्द्रजात्रा संवन्धी बृहत फोटो प्रदर्शनी संपन्न भएको छ। नेपालका अत्यन्त चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य तथा कलाकार श्रेष्ठव्दारा नै समुदघाटन गरिएको फोटो प्रदर्शनी काठमाडौको बसन्तपुर स्थित शिव–पार्वती डबलीमा खुल्ला रुपमा गरिएको हो।

नेपालको इन्द्रजात्रा संवन्धी १ सय फोटो प्रदर्शनीमा अम्बिसकाजी शाक्यको फोटोले सर्वोत्कृष्ठता हासिल गरेर नगद १० हजार पुरस्कार प्राप्त गरेको थियो। त्यसैगरेर जनही नगद ५ हजार सहितको पुरस्कार शंकर भुजेल तथा रोहित महर्जनको फोटोले जितेको थियो। कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ, काठमाडौ क्षेत्र नंबर ८(क) प्रदेशसभासद राजेश शाक्य, नेवाःपत्रकार राष्ट्रिय दबु काठमाडौका अध्यक्ष बरिष्ठ फोटोपत्रकार नातिकाजी महर्जन, अग्रज फोटोपत्रकार राजभाइ सुवाल, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य, सर्वहित नेपालका अध्यक्ष विनोद तुलाधर लगायतले कार्यक्रमको उपलव्धी र आवश्यकताका बारेमा प्रकाश पारेका थिए।

कार्य संयोजक सुखावती मल्टी प्रोडक्सनका कार्यकारी निर्देशक तथा चर्चित कलाकार सुरेन्द्र तुलाधरले कार्यक्रमको परिकल्पना अनुरुप सफल भएको र यो कार्यक्रमले नेपालको अत्यन्त मौलिक तथा जीवित देवी कुमारीको इन्द्रजात्रालाई प्रमोसन गर्न सफलता पाएको बताएका छन्।

सोही कार्यक्रममा टोल–टोलमा महको म नामक कार्यक्रमलाई पनि निरन्तरता दिइएको थियो। जसमा कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म किताव हस्ताक्षर कार्यक्रममा धेरैले सहभागिता जनाएका थिए।

सुखावती मल्टीप्रोडक्सनले महको म किताव १५ हजार विक्री गर्ने उदेश्यनुरुप गरिएको पहलले हालसम्म १० हजारभन्दा बढीको विक्री रेकर्ड राखिसकेको सुखावती मल्टीप्रोडक्सनका कार्यकारी निर्देशक सुरेन्द्र तुलाधरले भिजन संसारलाई भनेका छन्। तुलाधरले महको म कितावको निक्कै चासो र माग बमोजिम आफूहरुले विक्रीको सहकार्य गरेर सहयोग गरेको बताए।


प्रकाशन मिति–२०७४ साल पुष ८ गते शनिवार ।