काठमाडौं। नेपाल चलचित्र कलाकार संघको वर्तमान कार्यसमिति निर्वाचित भएको २०७७ जेठ २५ गतेवाट एक वर्ष पुगेको छ। एक बर्ष पुगेयता निर्वाचित भएको एक बर्षमा आफूहरुले गरेको कार्यगतिविधिलाई कार्य समितिको बैठकवाट सार्वजनिक गर्ने कार्य भएको छ।

मंगलवार संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सरकारले स्थापना गरेको कोरोनाभाइरस राहत कोष खाताका लागि कलाकार संघको तर्फवाट नगद एक लाख एक हजार एकसय रुपिया सहयोग गरिएको खुलासा गरिएको छ। चलचित्र क्षेत्रको विकास–विस्तार तथा कलाकारहरुको हक–हितका लागि गरेको कार्यमा सहयोगी भूमिका निभाउने सवैलाई धन्यवाद तथा आभार प्रकट पनि गरेको छ।

संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाव्दारा जारी विज्ञप्ति अनुसार, ओझेलमा परेका कलाकारलाई कदर सम्मान् तथा वृद्व , असक्त कलाकारहरुलाई औषधी उपचारका लागि नगद सहयोग गरिएको छ। संघका सदस्य कलाकारहरुलाई औषधी उपचारमा ५०प्रतिशत छुट का लागि विभिन्न ५ वटा अस्पतालसंग सम्झौता संम्पन्न भएको उल्लेख रहेको छ। जसमा नेशनल मेडीकल कलेज, अत्तरखेल, अल्का अस्पताल, पुल्चोक, सुमेरु अस्पताल, धापाखेल, ओम डेन्टल अस्पताल, चावहिल र मेघा अस्पताल, चावहिल रहेको भनिएको छ।

प्रविधिको गलत प्रयोग गरी केही नेपाली कलाकारहरुको मान मर्दन हुने गरी अति रंञ्जित सामाग्रीहरु सामाजिक संञ्जालमा देखिन आएकोले सो को छानविन र कारवाहीका लागि संघले उल्लेखनिय भूमिका निर्वाह गरेको वताइएको छ। कोभिड–१९ को कारण ले भएको लकडाउनवाट आर्थिक मारमा परेका कलाकार, जुनिएर कलाकार, प्राविधिक, नृत्यकर्मी लगायत केही सर्वसाधारण गरी करिव ३०० जनालाई संघ मार्फत राहत उपलब्ध गराएको भनिएको छ।

नेपाल सरकारले आ.ब.२०७७/०७८ को बजेट भाषणमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माण र चलचित्र क्षेत्रका विकास र विस्तारका लागि वजेट विनियोजन गरिएकोमा धन्यवाद सहित आभार प्रकट गर्ने कार्य पनि संघवाट भएको जनाइएको छ।
प्रकाशन मिति–२०७७ साल जेठ २७ गते मंगलवार ।