काठमाडौं। स्थापनाको ३१ बर्षमा पहिलो पल्ट नेपाल चलचित्र कलाकार संघले बडा दशैंको टीका लगाइदिने कार्यक्रम भएको छ।

काठमाडौंको धुम्बाराहीस्थित स्काई पार्टी प्यालेसमा शुक्रवार आयोजित कार्यक्रममा नेपाली चलचित्रका बरिष्ठ निर्देशक तथा गीतकार यादव खरेलले सवै विधाका कलाकारहरुलाई बडा दशैंको टीका लगाइदिएका थिए।

नेपाल चलचित्र कलाकार संघको इतिहासमा नै पहिलो पल्ट आयोजित उक्त कार्यक्रममा संघका बर्तमान अध्यक्ष रविन्द्र खड्काले टीका ग्रहण गर्न आउने सवैलाई नगद ३१ रुपैया दक्षिणा पनि प्रदान गरेको जानकारी बुनियाद गीतका गायक सीताराम पोखरेलले बताएका छन्।

बडा दशैंको टीका कार्यक्रममा तिहार, छठ एवम् नेपाल सम्वत् नयाँ बर्ष ११४०को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो। सङ्घका उपाध्यक्ष मोहन निरौलाले संचालन गरेको कार्यक्रममा सङ्घका महासचिव चेतबहादुर सिंह ‘राजा’ले स्वागत मन्तव्य राखेका थिए।

नेपाल सङ्गीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, सङ्घका सल्लाहाकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष, कृष्ण मल्ल, चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरीलगायतले सङ्घले नेपालीहरुको महान चाडका अवसरमा कलाकारहरुलाई एकठाउँमा भेला गराई शुभकामना आदान–प्रदान गर्ने कार्यको सुरुवात गरेर राम्रो काम गरेको भन्दै सङ्घले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए।


प्रकाशन मिति–२०७६ साल असोज २५ गते शनिवार ।