काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अत्यन्त कर्णप्रिय गीत लेख्दैआएका कवि एवम् गीतकार तथा नेपाली चलचित्रका निर्माता–निर्देशक समेत रहेका गगन विरहीको स्वास्थ्य अचानक विग्रेपछि अस्पताल भर्ना गरिएको छ।

आइतवार काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएका विरहीको अवस्थामा खासै सुधार आइनसकेको कवि एवम् गीतकार डीपी दाहालले भिजन संसार डटकमलाई बताएका छन्।

मंगलवार नर्भिक अस्पतालमा विरहीको स्वास्थ्यस्थिति बुझ्न पुगेका गीतकार दाहालका अनुसार, विरही पूर्ण होशमा छैन्। नर्भिकका डाक्टरहरुले पूर्ण होशमा ल्याउने प्रयास जारी रहेको छ। लिभरको समस्यावाट पीडित विरहीलाई दुई बर्षअघि भारतको नयाँदिल्लीमा उपचार गराएर काठमाडौ ल्याइएको थियो।

दिल्लीमा रोग निराकरण नहुने देखेपछि परिवारले विरहीलाई स्वदेश ल्याएर नर्भिकमा उपचार गराउंदै आएको थियो। स्वास्थ्यमा केही सुधार आएको पनि थियो। केही दिनअघिसम्म आफूले रचना गरेको कविता संग्रह विमोचन गर्ने तयारीमा लागेका विरहीको स्वास्थ्यमा फेरि गंभीर समस्या उत्पन्न भएको बताइएको छ।

संकल्प, बादल, झझल्को,घर–आँगन, मितेरी गाउं तथा शिखर लगायतका चलचित्रका निर्माता तथा निर्देशक समेत रहेका विरही लामो समय अमेरिका बस्दैआएका थिए। सात बर्ष अगाडि मात्र नेपाल फर्केर चलचित्र तथा साहित्यको नियमित कार्यमा फर्केर विरही रमाउंदै आएका थिए। विरहीको तिमीलाई अचेल कहाँ भेटुँ बोलको गीत अत्यन्त चर्चित कालजयी गीत हो। विरही नेपाल टेलिभिजनको पहिलो समाचारवाचक पनि हुन्।

प्रकाशन मिति–२०७५ साल असोज ९ गते मंगलवार ।