Deuba with Paudel

काठमाडौ। नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाको पार्टी संचालन गर्ने कार्यशैलीप्रति विरोध जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाउन लिखित माग गरेको छ।

मौखिक रुपमा बारम्बार आग्रह गर्दा पनि बैठक नबोलाएपछि लिखित रुपमा बैठक बोलाउन आग्रह गरिएको पौडेल पक्षीय नेताहरुले बताएका छन्।

आसन्न तीन तहका निर्वाचन र सरकार संचालनका बिषयमा गम्भिर छलफल गर्नुपर्ने कारण जनाउदै बैठक बोलाउन माग गरिएको छ।

‘पार्टी र भातृसंस्थाहरुको संचालनमा सन्तुलित तवरबाट क्रियाशीलता आवश्यकता छ’ पौडेलले देउवालाई बुझाएको पत्रमा उल्लेख छ, ‘पार्टीको प्रमुख सहभागिता भएको सरकारको काम, प्रभावकारिता र त्यसका लागि पार्टीले खेल्नुपर्ने भूमिका र पछिल्ला चरणमा हुन गएका विवादस्पद निर्णयबाट हाम्रा शुभचिन्तकमा चिन्ता छाएको छ।

’पौडेल पक्षले पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक नबसेको महिनौं भएको र संस्थागत रुपमा पार्टी संचालनको अभ्यास समेत नभएको भन्दै सभापति देउवाको कार्यशैलीप्रति आलोचना गर्दै आएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन १५ गते आइतवार ।