काठमाडौं। ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरको प्रचारप्रसारका लागि चौथो कागेश्वरी महोत्सव हुने भएको छ। यही आउने फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको उत्तरी भेग भद्रवास आलापोट स्थित कागेश्वरी मन्दिर परिसरमा चौथो कागेश्वरी महोत्सव हुन लागेको हो।

विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हालका प्रदेशसभा सदस्य रामेश्वर फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुंदैआएको थियो।

कागेश्वरी मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ। नामकरण भएदेखि नै महोत्सवको आयोजना कागेश्वरी मनोहरा नगरपालिकाले गर्दै आएको छ । यस वर्ष स्थानीय श्याम लामाको संयोजकत्वमा महोत्सव आयोजक मूल समारोह समिति गठन गरिएको छ ।

महोत्सवमा यहाँका तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिने जनाएको छ ।

कागेश्वरी मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ। यो नेपालकै ठूलो कागको मूर्ति हो। यहीँको लोकतानित्रक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण शुरु भएको छ।

एक वर्षमा यसको निर्माण भइसक्ने जनाइएको छ । एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन्।
प्रकाशन मिति–२०७५ साल फागुन ५ गते आइतवार ।