काठमाडौं। काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ।

विहान ६ बजेदेखि १० बजेसम्म सामाजिक दूरी कायम गरेर सोमवारवाट किनमेल गर्ने व्यवस्था मिलाउने निर्णय भएको महानगरपालिकाको ४५ औं कार्यपालिका बैठकमा सहभागिता जनाएर फर्केका काठमाडौं महानगरपालिका वडा नंबर ४ का लोकप्रिय वडा अध्यक्ष मोहन वहादुर विष्टले भिजन संसार डटकमलाई बताएका छन्।

सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५ औं कार्यपालिका बैठकमा सहभागी सबै वडाध्यक्षहरु यसमा सकारात्मक बनेको जानकारी पनि वडा अध्यक्ष विष्टले भनेका छन्।

काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले पनि वडाध्यक्षहरुलाई सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउन आग्रह गरेका छन्। बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, -यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका बिषयमा केन्द्रीत भएर छलफल गरेको थियो ।

कोरोनाभाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै मेयर शाक्यले अहिलेसम महानगरका ६८ हजार ६ सय १७ जनालाई राहत वितरण गरेको जानकारी दिएका छन्। खान छैन भन्ने १९ हजार ७ सय २३ जनालाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरिएको पनि मेयर शाक्यले बताएका छन्।

कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा २ सय २१ लाई सेवा दिएको छ,’ बताउदै मेयर शाक्यले ‘१०२ नंबरमा सम्पर्क गरेर सेवा लिन सकिने र सो एम्बुलेन्सले हालसम्म १ सय ७६ जनालाई निशुल्क सेवा दिएको बताएका छन्।

बैठकले महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई थप निकासा पठाउने समेत निर्णय गरेको छ। ठूलालाई १५ लाख, मझौलालाई १० लाख र सानालाई ५ लाख रुपैयाँलाई थप निकासा गर्ने गरी बैठकले अनुमोदन गरेको छ।

त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ।
बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक समन्वय मजवुत भएकोले राहत वितरण सहज भएको बताउँदै यसलाई थप सुदृढ बनाउँदै लानु पर्नेमा जोड दिएकी छन्।

बैठकमा वडा नंबर ४ का वडा अध्यक्ष मोहन बिष्ट, ५ नंवरका वडा अध्यक्ष रमेश डंगोल, ७ नंबरका वडा अध्यक्ष शुद्धकुमार डंगोल, १० नंबरका वडा अध्यक्ष रामकुमार के.सी., ११ नंबरका वडा अध्यक्ष हीरालाल तण्डुकार, १२ नंवरका वडा अध्यक्ष बिकास डंगोल, २३ नंबरका वडा अध्यक्ष मचाराजा महर्जन, २५ नंबरका वडा अध्यक्ष नीलकाजी शाक्य, ३० नंबरका वडा अध्यक्ष दलबहादुर कार्की र कार्यपालिका सदस्य प्रेम पुजारीले कोरोना बिरुद्धको संघर्षमा वडा समितिले भोगेका चुनौती, राहत वितरण व्यवस्थापनका समस्या र महानगरले अब अबलम्बन गर्नुपर्ने  बिषयमा धारणा राखेका थिए।

प्रकाशन मिति–२०७७ साल बैशाख १४ गते आइतवार ।