काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन्। काठमाडौं उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले संघ, प्रदेश र उपत्यका नगरपालिकाहरुको समन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको वताएका हुन।

मेयर शाक्यले स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि स्वागत गरेका छन्। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टायन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको पनि मेयर शाक्यले भनेका छन्।

काठमाडौँ महानगरपालिका संघीय राजधानी समेत भएकाले यहाँ ७७ वटै जिल्लाका नागरिक विभिन्न पेशा–व्यवसायमा संलग्न भएर बस्ने गरेका छन् । यो सम्वेदनशीलतालाई आफूले राम्ररी बुझेको र यस्तो अवस्थामा कोरोना संक्रमण नियन्त्रण बाहिर गयो भने यसको असर मुलुकभरी नै पर्ने निश्चित भएको भन्दै
मेयर शाक्यले सरकारले सुरुमा गरेको लकडाउनलाई पूर्ण पालना गर्दै काठमाडौँ महानगर र सम्पूर्ण उपत्यकावासीले उपत्यकालाई शान्त राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उपत्यकाबासीको सहनशीलतालाई आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र ३ गते बुधवार ।