काठमाडौं। काठमाडौमा फेरि बर्ड फ्लू भेटिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका वडा नंबर १ साङ्लामा फेरि बर्ड फ्लू भेटिएको हो । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले वताएका छन्। बर्ड फ्लूको संक्रमण विहीबार पुष्टि भएपछि त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको छ।

प्रवक्ता ढकालका अनुसार कमल गौतमले पालेका अण्डा नपार्ने लेयर्स कुखुरा २ हजार ९ सय ५५ वटा, अण्डा पार्ने लेयर्स २ हजार ७ सय २ वटा, अण्डा ३ हजार ५ सय ७० वटा र दाना १ हजार ४ सय ५० किलो नष्ट गरिएको छ।

यसैगरी सरिता शाहले पालेका बोइलर कुखुरा २ हजार ९ सय ६० वटा, दाना ७ सय ५० किलो, सम्झना ठकुरी तिवारीले पालेका बोइलर कुखुरा २ हजार ७६ वटा, लोकल कुखुरा १ सय ७ वटा नष्ट गरिएको छ। अमृत थापाले पालेका २ हजार २ सय चल्ला र १५० किलो दाना तथा शान्ता खनालले पालेका लोकल कुखुरा एक सय वटा र टर्की दुई वटा पनि नष्ट गरिएको छ ।

तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको खुलासा गरेका छन्। तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो।
प्रकाशन मिति–२०७७ साल फागुन १४ गते शुक्रवार ।