काठमाडौं। काठमाडौंमा आइतबार अपरान्ह दुई ठाउँमा बम विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ सुकेधारामा अपरान्ह एक  सैलुनमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ।

एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी ६ जना घाइते भएका छन्।

त्यस्तैगरेर, काठमाडौं महानगरपालिका वडा नंबर २९ अनामनगर घट्टेकुलोस्थित एक घरमा बम बनाउँदै गर्दा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुने नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता भएको प्रहरीको दावी छ।

खाना पकाउने ग्यास सिलिन्डरलाई टाइम बम बनाउने क्रममा प्राविधिक गडबडी भइ दुवै स्थानमा विस्फोट भएको प्रहरीले सुरुवाती निचोड निकालेको छ।  प्रहरी उच्च स्रोतका अनुसार टाइम बम बनाउने क्रममा पड्किँदा घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको एक तल्ले घर र सुकेधारास्थित शैलुनमा टाइम बम बनाउने क्रममा तीनजनाको ज्यान गएको हो। 
प्रकाशन मिति–२०७६ साल जेठ १२ गते आइतवार ।