काठमाडौं। काठमाडौंको पहिचान र शान असनको ऐतिहासिकता प्रबद्र्धन गर्न शनिबार एकदिने महोत्सव आयोजना गरिएको छ। काठमाडौं महानगरपालिका वडा २७ तथा असन सेवा समाजको आयोजनामा असन महोत्सव भएको हो।

महोत्सवको शुभारम्भ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका हुन्। महोत्सवको शुभारम्भ समारोहमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जन लगायतले असन बजारको महत्व र यसको जगेर्नाका वारेमा मन्तव्य राखेका थिए।

महोत्सवमा यमरी, बारा, मःम, छोइला, कचिला, सफुमिचा, चोही, बः लगायत परम्परागत नेवारी खाजाका स्टल, नेवारी साहित्य, सृजना र संस्कृति सम्बन्धि पुस्तकका स्टलहरु राखिएका थिए। महोत्सवमा नेपाल लिपि गुथिले रञ्जना क्लालिग्राफी अभियान सञ्चालन गरेको थियो। त्यस्तै परम्परागत नाच र गायन सागीतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विशेष सहभागिता पनि रहेको थियो।

प्रकाशन मिति–२०७६ साल पुस १२ गते शनिवार ।