काठमाडौं। काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि रु ११ करोड मूल्य बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ।

ब्रुमर यन्त्र झिकाउन बोलपत्र आह्वान गरिसकिएको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले बताएका छन्। ढकालका अनुसार ढिलोमा मङ्सिरदेखि काठमाडौँको फोहर ब्रुमरले सफा गर्नेछ।

ब्रुमर खरिदका लागि हालसम्म ६ वटा आशयपत्रका निवेदन काठमाडौं महानगरपालिका परेका छन्। हाल काठमाडौ महानगरपालिकाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ।

काठमाडौं महानगरपालिकाले शहर सफा गर्न गत हप्तादेखि पाँच वटा ठूला जेट यन्त्र सञ्चालनमा ल्याएको छ। काठमाडौं महानगरपालिकाका जननिर्वाचित मेयर विद्यासुन्दर शाक्यको काठमाडौंलाई सफा–सुन्दर र समृद्ध महानगरपालिका बनाउने योजना अनुरुप धमाधम काम हुंदैगएको छ।

असोज महिनामा मात्र पनि फ्री–वाइफाइ देखि स्मार्ट पार्किङ, मोनोरेलसम्मका कार्यले मूत्र्तरुप पाएको छ। निर्वाचनको बेलामा काठमाडौंका जनता समक्ष गरेका बाचाबचन एक–एक पूरा गर्ने कसम नै मेयर शाक्यले गरेका छन्। सोही अनुरुप एक पछि अर्को गरेर कार्यमा तिब्रता आएको हो।

परिणाम दिने गरेर कार्य भैरहेको मेयर शाक्यको भनाई रहेको छ। ब्रुमरले काठमाडौंको फोहरलाई सफा गर्न थालेपछि निश्चित रुपमा काठमाडौं अत्यन्त सफा हुंदैजाने भएको छ।


प्रकाशन मिति–२०७५ साल असोज ४ गते विहीवार ।