काठमाडौं। काठमाडौंको विद्यमान बाताबरणिय सर–सफाई तथा फोहर समस्याको निराकरण विद्यालयवाट हुने निश्कर्ष निक्लेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त निश्कर्ष निकालेका हुन्।

मेयर शाक्यले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ९१ वटा सरकारी सामुदायिक विद्यालय तथा ६ सयभन्दा बढी नीजि संस्थागत विद्यालयहरुलाई यस कार्यमा परिचान गरेर काठमाडौंको फोहरको उचित व्यवस्थापन गर्न सक्ने बताएका छन्।

विद्यालयमा विद्यार्थीहरुलाई फोहर संकलन तथा बाताबरणिय सरसफाई गर्ने तौर–तरीका लगायत बाताबरणिय कार्य गर्न र गराउन काठमाडौं महानगरपालिका लगानी गर्न तयार भएको मेयर शाक्यले बताएका छन्।

काठमाडौं महानगरपालिका शहरी योजना आयोग र शिक्षा विभागको संयुक्त आयोजनामा सोमवार आयोजित काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सामुदायिक शिक्षाको स्तरोन्नतिका लागि सुझाव संकलन कार्यशालाको समापन समारोहमा मेयर शाक्यले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

सरकारी सामुदायिक तथा नीजि संस्थागत विद्यालयका विद्यार्थीहरुलाई बाताबरणिय सरसफाईको बारेमा सिक्ने र सिकाउने बाताबरण दिएर उनीहरुलाई परिचालन गर्न सकेमा काठमाडौं महानगरपालिकाको शहरी सौन्दर्यमा ठोस योगदान पुग्ने राय मेयर शाक्यको रहेको छ।

त्यसको लागि काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा फलफूलका विरुवा र मल दिने अनि ती विरुवालाई हुर्काउने जिम्मेवारी विद्यार्थी र विद्यालयलाई दिने तयारी भैरहेको पनि मेयर शाक्यले भनेका छन्।

बाताबरणीय सरसफाईमा विद्यालय तथा विद्यार्थी लागेमा क्रमिक रुपमा शहरी बातबरण परिवर्तन हुने ठोकुवा गर्दै मेयर शाक्यले भनेका छन्–”आजका बाल–बालिका नै भोलिका कर्णधार हुन्। उनीहरुले विद्यालयमा सिकेका कुरा व्यावहारिक जीवनमा लागू गर्दैजाने भएकोले भोलिका दिनमा शहरी बाताबरणमा ठोस योगदान पुग्ने छन्।”

मेयर शाक्यले अगाडि भनेका छन्–”बालबालिकाले आमाबुवाका कुरा भन्दा विद्यालयका शिक्षक–शिक्षिकाका कुरा बढी सुन्ने र मान्ने भएकोले यस कार्यमा विद्यालय र शिक्षक–शिक्षिकाको योगदान अत्यन्त आवश्यक छ।”

कार्यक्रममा मेयर शाक्यले नीजि संस्थागत विद्यालयलाई दबाएर सरकारी सामुदायिक विद्यालयलाई मात्र उकास्ने सरकारी नीति बनिनु हुंदैन बरु, नीजि संस्थागत विद्यालयसंग प्रतिस्पर्धा गर्ने र गराउने आवश्यकता रहेको विचार व्यक्त गरेका छन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासन अधिकृत यादव प्रसाद कोइरालाले काठमाडौं महानगरपालिकाले शिक्षामा नयाँ थालनी गरेको र त्यो थालनी समाज परिवर्तन हो भन्दै त्यसमा नैतिक शिक्षाले गहन भूमिका निर्वाह गर्ने कुरामा जोड दिए।

प्रमुख प्रशासन अधिकृत कोइरालाले शिक्षा र स्वास्थ्य अभिन्न अंग भएकोले यस क्षेत्रमा सरकारको बढी नै लगानी हुने बताउंदै शिक्षामा काठमाडौं महानगरपालिकाले धेरै लगानी गर्ने योजना ल्याएको पनि खुलासा गरे।


प्रकाशन मिति–२०७५ साल असोज २३ गते मंगलवार ।