काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखेको सपना पूरा हुने

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखेको सपना पूरा हुने भएको छ। चीन सरकारमा रहेको चाइना रेलवे ट्वेन्टी फाइभ ब्युरियो ग्रुप कंपनी लिमिटेड (सीआरसीसी)ले काठमाडौंमा स्थलगत रुपमा तीन महिना अध्ययन पूरा गरेर त्यसको प्रतिवेदन मेयर शाक्यलाई बुझाएपछि मोनोरेलको सपनाले मूर्त रुप लिएको हो।

१ खर्ब १६ अर्ब लागतमा काठमाडौंमा मोनोरेल गुड्ने भएको छ। प्रतिवेदन अनुसार, डीपीआर तयार भएको लगतै आगामी तीन बर्षभित्र काठमाडौंमा मोनोरेल गुड्ने निश्चित भएको छ। मोनोरेल काठमाडौंको चक्रपथमा गुड्ने मोनोरेलको अर्को साझेदार महानगरपालिकामा ललितपुर महानगरपालिका पनि रहेको छ।

सीआरसीसीले मेयर शाक्यका साथमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई पनि एकसाथ मोनोरेल अध्ययन प्रतिवेदन बुझाएको हो। काठमाडौं उपत्यकाको २७.५ किलोमिटर दूरीको चक्रपथ क्षेत्रमा ७.६ किलोमिटर ललितपुर महानगरपालिकाभित्र पर्ने गरेको छ। बाँकी क्षेत्र काठमाडौं महानगरपालिका भित्र परेको छ।

पहिलो चरणमा कोटेश्वर देखि कलंकी र दोश्रो चरणमा कलंकी देखि महाराजगंज र तेश्रो चरण महाराजगंज देखि कोटेश्वरसम्म गरेर मोनोरेलको निर्माण पूरा हुने भएको छ। जसमा २१ स्थानमा यात्रु ओराल्ने तथा चढाउने स्टेशन निर्माण गरिने भएको छ।

निर्माण लागतको संपूर्ण खर्च चीन सरकारले व्यहोर्ने प्रतिवेदनमा उल्लेख रहेको छ। प्रतिवेदन बुझिसकेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनमा घोषणा गरेको काठमाडौंमा मोनोरेल गुडाउने सोच र सपना अनुरुप यो कार्य भएको भिजन संसार डटकमलाई बताएका छन्।

काठमाडौंमा मोनोरेल गुडाएरै छाड्ने प्रतिबद्धता अनुरुप यो कार्य भएको र यी तीनबर्षभित्र जसरी पनि काठमाडौंका जनतालाई मोनोरेल चढाउने प्रमुख उदेश्य रहेको मेयर शाक्यले भनेका छन्। काठमाडौंमा मोनोरेलको यो संभाव्यता तथा निश्चितताले ट्राफिक जामले हैरान बनिरहेका काठमाडौंवासीहरुलाई यसले ज्यादै राहत दिने भएको छ।प्रकाशन मिति–२०७५ साल भदौ २८ गते विहीवार ।