काठमाडौं। काठमाडौंको शान तथा गौरबको रुपमा स्थापित काठमाडौं उपत्यकाको महान पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। काठमाडौंको बसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ भएको हो।

शुक्रवार काठमाडौंको बसन्तपुरमा इन्द्रजात्राको ३२ हात लामो लिंगो ठड्याइएको छ। उक्त लिंगोको फेदमा भैरवको पूजा हुन्छ। विभिन्न ध्वजापताकाले सजाइएको लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा गरिएको छ।

ध्वजासहितको लिंगो ठड्याउँदा नेपाली सेनाको ब्याण्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मङ्गल धुन बजाएका थिए। इन्द्रजात्राको प्रमुख आकर्षण भनेको जीवित देवी कुमारीको रथयात्रा हो। जुन रथयात्रा यो बर्ष असोज ८ गते सोमवार परेको छ।

त्यसदिन नेपालका राष्ट्रप्रमुख लगायत विदेशी विशिष्ट पाहुनाहरुको उपस्थितिमा जीवित देवी कुमारीको रथयात्रा शुभारम्भ हुने गर्दछ। राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन गर्ने पनि प्रचलन रहेको छ। यो बर्षवाट इन्द्रजात्राका लागि काठमाडौं महानगरपालिकाले नगद १० लाख सहयोग उपलव्ध गराएको छ।


प्रकाशन मिति–२०७५ साल असोज ५ गते शुक्रवार ।