काठमाडौं। काठमाडौं उपत्यकामा जारी साताव्यापी निषेधाज्ञा अर्थात लकडाउनमा एक हप्ता थप गरिएको छ। भाद्र ४ गतेवाट काठमाडौं उपत्यकामा लकडाउन गरेको भाद्र १० गते बुधवारवाट सकिनै लागेको बेला फेरि एक हप्ता थप गरेको  हो।

थप एक हप्ताको कारण अव काठमाडौं उपत्यकामा भाद्र १७ गतेसम्म निषेधाज्ञा अर्थात लकडाउन हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले निषेधाज्ञा एक साताका लागि थप गर्ने निर्णय गरेको जनाइएको छ। 

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो । बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए। लकडाउनलाई अझ थप कडाइ गरिने भनिएको छ।

निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन् । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्।

 उपत्यकामा मात्र संक्रमितको संख्या तीन हजार नाघिसकेको छ। काठमाडौंमा मात्र करिब २८ सयमा संक्रमण पुष्टि भएको छ। सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र १० गते बुधवार ।