काठमाडौ। काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा रंगको पर्व होली उल्लासपूर्वक आज बुधवार धुमधामकासाथ मनाउने कार्य भैरहेको छ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन्। नेपालका पहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ।

विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई(तीन दिनसम्म होली मनाउने प्रचलन रहेको छ । सुदुरपश्चिमका पहाडी भेगमा पनि दुई दिनसम्म होली मनाउने प्रचलन छ। सुदूरपश्चिमका अछाम, डोटीगायतका ठाउँमा पूर्णिमाको राति रंगीचंगी ध्वजापताकाले रंग्याएको चिरमा आगो लगाउने र भोलीपल्ट होली विसर्जन गर्ने परम्परा छ।

त्यहाँ पूर्णिमाको रातभर र भोलिपल्ट दिनभर श्री राम, सीता, हनुमान र रावण तथा होलीकाबारे बनाईका देउडा गाएर ताल मिलाउँदै होली खेल्ने गरिन्छ ।
प्रकाशन मिति–२०७५ साल चैत्र ६ गते बुधवार ।