काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको प्रमुख दिन आज विजया दशमीको अवसरमा नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुभकामना दिएका छन्।

मेयर शाक्यले काठमाडौं महानगरवासीको सुख–समृद्धिको कामना गर्दै विजया दशमीको शुभकामना व्यक्त गरेका हुन्। मेयर शाक्यले विजया दशमीको शुभकामनामा काठमाडौंलाई उन्नत, समृद्ध तथा हराभरा अनि सफा नगर बनाउने कार्यमा आफू प्रतिबद्ध रहेको जनाउंदै यस शहरलाई सांस्कृतिक नगरीको रुपमा विकास गर्ने कार्य भैरहेको जनाएका छन्।

निर्वाचनको बेला काठमाडौं महानगरवासीलाई दिएका प्रत्येक बचन अक्षरसः पालना गर्दै पूरा गर्न अहोरात्र लागिरहेको र यसमा महानगरवासी तथा ३२ वटै वडाका जनप्रतिनिधिहरुको साथ र सहयोग रहने अपेक्षा पनि मेयर शाक्यले भनेका छन्।

मेयर सफल हुने या नहुने भन्ने कुरा वडामा रहेका जनप्रतिनिधिहरुको हातमा रहेको कारण वडामा रहेका वडा अध्यक्ष तथा सदस्य लगायतका जनप्रतिनिधिहरुलाई जनताको काममा सदा कटिबद्ध भएर लाग्न अनि हरेक दुःख–सुख आफ्नो भनेर लाग्न पनि मेयर शाक्यको अनुरोध रहेको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक २ गते शुक्रबार ।