काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहयोगमा बुधवारदेखि छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा आएको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालन शुभारम्भ गरेका हुन्।

यसका लागि काठमाडौं महानगरपालिकाले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहार्ने जनाएको छ। त्यस्तै, काठमाडौं महानगरपालिकालाई भगिनी शहर चीनको ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिएको छ । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकमको पनि काठमाडौं महानगरपालिकाले भुक्तानी गरिदिने भएकोछ ।

अस्पतालको क्षमता बढाएर कोविड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताउँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वताएका छन्।

अहिले जनताको जीवन रक्षाका आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकता राखेको समेत मेयर शाक्यले भनेका छन् । अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोविडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको पनि मेयर शाक्यको भनाइ थियो।

कोविड नियन्त्रण गर्न बैज्ञानिक आधार खोजी भइरहेको छ । जुनदिनसम्म यसको नियन्त्रणका लागि विज्ञानमा आधारित समाधान आउँदेन, त्यतिञ्जेलसम्म अहिलेसम्म प्राप्त भएका उपलब्धी र सामुहिक प्रयासको प्रयोग गर्नुपर्छ भनेर शुभारम्भपछि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भनेका छन्।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पूर्वाधार विकासमा गरिने लगानी रोकेर महानगरले स्वास्थ्य क्षेत्रको सुधारका लागि लगानी गरेको खुलासा गरे ।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगरबाट प्राप्त सहयोगबाट धेरैभन्दा धेरै जनताको सेवा गर्ने तथा त्यसको विवरण हरेक दिन काठमाडौं महानगरपालिकामा पठाउने वताए। अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोविड अस्पताल सञ्चालनमा आएको छ।


प्रकाशन मिति–२०७८ साल जेठ १२ गते बुधवार ।