काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ।

काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई ५०-५० लाख रुपैयाँ सहयोग गरेको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य स्थलगत रुपमा सोमबार सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै मेयर शाक्यले विपत्‌का बेलामा आफूहरुले थोरै भए पनि सहयोग गरेको भनेका छन्। धेरै क्षति भएको भए पनि माया र आत्मीयताको कुनै मुल्य नहुने भन्दै मेयर शाक्यले सिन्धुपाल्चोकको विपत्तिमा काठमाडौं महानगरपालिकाको साथ रहेको र आगामी दिनमा पनि साथमै रहने जिकिर गरे। पानी पर्ने सिजन अझै आउन बाँकी रहेको उल्लेख गर्दै मेयर शाक्यले आगामी दिनमा थप पूर्वाधारको क्षति हुन नदिन ध्यान दिन पनि आग्रह गरे।

त्यस्तै मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले समयमै नगरबासीलाई सचेत हुन सूचना प्रवाह गरेका कारण मानवीय क्षति कम भएको उल्लेख गरे। विकास निर्माणको कामको संरचना क्षति हुँदा झनै समस्यामा परेको मेयर अर्यालको भनाइ छ । हाल अर्बौको क्षति भएको भन्दै अझै नदीले कटान गरिरहेकाले त्यसलाई न्यूनीकरणका लागि प्रयास भैरहेको मेयर अर्यालले बताए ।
प्रकाशन मिति–२०७८ साल असार ८ गते मंगलवार ।