काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ एकसाथ सम्मानित बनेका छन्। नेपाल खड्गी सेवा समितिको आयोजनामा खड्गी समुदायका बाजा खलः र गुठी गरेर ७५ वटा समूहरुले संयुक्त रुपमा मेयर शाक्य र उपमेयर श्रेष्ठको भव्य सम्मान गरेको हो। कार्यक्रम नेपाल खड्गी सेवा समितिले आयोजना गरेको थियो।

काठमाडौँ महानगरका मूर्त अमूर्त सांस्कृतिक सम्पदा, नेपाल भाषाको संरक्षण र प्रवर्धन, बाजा गुरुहरुलाई प्रोत्साहन तथा आर्थिक अभावमा परम्परागत क्रियाकलाप बन्द हुने अवस्थामा रहेका गुठीलाई संस्कृतिको निरन्तरताका लागि मेयर शाक्य तथा उपमेयर श्रेष्ठको अतुलनीय योगदानको कदर स्वरुप उक्त भव्य सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मान कार्यक्रममा खड्गी सेवा समितिका संरक्षक मनोज नेवाले समुदायको उत्थानका लागि साझा सोच आवश्यकता रहेको कुरामा जोड दिएर खड्गी समुदायका युवायुवतीहरु हाल विभिन्न पेशामा आवद्ध हुन थालेयता क्षेत्रगत नेतृत्व बढ्दै गएको टिप्पणी समेत गरेका छन्। खड्गी सेवा समितिले आगामी मंसिर महिनामा काठमाडौँको बसन्तपुरमा नाय खिँ बाजाको वृहत प्रदर्शनी आयोजना गर्ने पनि जनाएको छ।

प्रकाशन मिति–२०७८ साल असोज १० गते आइतवार ।