काठमाडौं । नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका कारण बाधा–अवरोध सिर्जना भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले बसन्तपुर डबलीको पुनर्निर्माणलगायत अन्य योजना कार्यान्वयनमा केही जनप्रतिनिधिहरुले राजनीतिक पूर्वाग्रहका आधारमा नै नियोजित रुपमा बाधा–अवरोध गर्ने गरेको खुलासा गरेका हुन् ।

मेयर शाक्यले आफ्नो कार्यकाल सफल भएको र महानगरका जनता खुसी रहेको पनि दाबी गरेका छन् । मेयर शाक्यले बाहिर विवाद भनेर प्रस्तुत गरिएपनि भित्री रुपमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसँग कुनैपनि विवाद नरहेको पनि स्पष्ट गरेका छन्।

मेयर शाक्यले आगामी 😂स्थानीय निर्वाचनमा पार्टीले टिकट दिए आफू फेरिपनि काठमाडौं महानगरपालिकाको मेयरमा उठ्न तयार रहेको उल्लेख गरे। महानगरमा पाँच बर्षको कार्यकालमा गरेका उचित मूल्यांकन हुने विश्वास पनि व्यक्त गरेका छन्। त्यस्तै मेयर शाक्यले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा पनि घोर आपति जनाएका छन् ।

नेपाली जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजिनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको मेयर शाक्यको जिकिर छ । पत्रकार सम्मेलनमा मेयर शाक्यले काठमाडौं महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाका बारेमा सविस्तार जानकारी दिएका थिए ।
प्रकाशन मिति–२०७८ साल चैत ४ गते शुक्रवार ।