काठमाडौं। काठमाडौं महानगरपालिकाको योजना तर्जुमाका लागि वडा सदस्यहरु वीच अन्तरक्रिया तथा सुझाव संकलन कार्य संपन्न भएको छ। आइतवार र सोमवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका जननिर्वाचित वडा सदस्यहरुको सहभागितामा कार्यक्रम भएको हो।

जननिर्वाचित वडा सदस्यहरुले वडामा समूहमा रहेर काम गर्दा ध्यान दिनुपर्ने कुराहरुको अलावा नगर योजनावारे अवधारणागत अभिमुखीकरण तालिम दिने कार्य भएको काठमाडौं महानगरपालिका शहरी योजना आयोगका अधिकृत सुशील सुवेदीले भिजन संसार डटकमलाई बताएका छन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका निर्वाचित १ सय २८ जना वडा सदस्यहरुलाई सहभागिता गराउने लक्ष्य लिएतापनि पचहत्तर प्रतिशतभन्दा बढी वडा सदस्यहरुको उत्साहप्रद सहभागिता रहेको पनि अधिकृत सुवेदीले भनेका छन्।

हालसम्म भएका अनुभव तथा चुनौतिहरुका संवन्धमा वडागत तथा समूहगत रुपमा आर्थिक तथा रोजगारी, सामिाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन र महानगरीय सुशासनका विषयमा अन्तरक्रिया भएको थियो। वडागत रुपमा आगामी योजनामा समावेश हुनुपर्ने योजनाहरुको बारेमा पनि वडा सदस्यहरुसंग सुझाव संकलन गर्ने कार्य भएको थियो।

वडा सदस्यहरुलाई वीच भएको दुई दिने अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा काठमाडौं महानगरपालिका शहरी योजना आयोगका शहरी विज्ञ तथा सदस्य सचिव सरोज बस्नेत, विज्ञ गुजेश्वरी श्रेष्ठले अभिमुखीकरण तालिम प्रदान गरेका थिए। सहभागी वडा सदस्यहरुले अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम अत्यन्त उपलव्धीमूलक भएको बताएका छन्। उनीहरुले यस कार्यक्रमवाट वडामा योजना तर्जुमा गर्न र समूहमा कार्य गर्ने उपायहरुको दिशावोध भएको भनेका छन्।

आयोजक काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य–सचिव सरोज बस्नेतले आयोगले भू–सूचना प्रणालीको विकास र काठमाडौं महानगरपालिकाको तथ्याङ व्यवस्थित गर्ने लगायत भिजिबल चेञ्ज ल्याउने प्रयास भैरहेको बताएका छन्। सदस्य–सचिव बस्नेतले शहरी योजना आयोग केवल डिजाइन र ड्रइङमा मात्र सिमित नभइकन हरेक कार्यवाट काठमाडौं महानगरपालिकालाई दक्ष बनाउने कार्यमा प्रयत्नशील रहेको पनि खुलासा गरेका छन्।

समापन समारोहमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकालाई सफल पार्न टीमवर्क आवश्यक भएको बताउंदै टीममा विश्वास गरेर सवै वडा सदस्यहरुलाई कार्य गरेर समृद्ध तथा सफल महानगर वनाउन सहयोग गर्न आव्हान गरे। वडा सदस्यहरुलाई आफूहरुको कार्यकाल अवधिभर संझ्न लायकको कार्य गरेर जानुपर्ने सुझाव पनि मेयर शाक्यले दिए।
प्रकाशन मिति–२०७५ साल पुस २४ गते मंगलवार ।