काठमाडौं। काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुको आफ्नै वडा भवन बन्ने भएको छ। हाल काठमाडौं महानगरपालिकाका कतिपय वडा कार्यालयहरुको आफ्नो भवन नहुदा निक्कै समस्या झेलिरहेको बर्तमान परिप्रेक्ष्यमा ती सवै वडा कार्यालयहरुको भवन निर्माण हुने भएको हो।

यस कुराको खुलासा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका वडा नंबर २६ कार्यालयको भवन शिलान्यास कार्यक्रममा गरेका हुन्। मेयर शाक्यले आफ्नो कार्यकालमा सवै वडा कार्यालयहरुको आफ्नो भवन निर्माण हुने दावी समेत गरेका छन्।

विहीवार काठमाडौं महानगरपालिकाका मेयर शाक्यका तथा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले वडा नंबर २६ को भवन निर्माणस्थल लैनचौरमा संयुक्त रुपमा पूजाआजा गरेर शिलान्यास गरेका हुन्।

वडा नंबर २६ का वडा अध्यक्ष ख्यामराज तिवारीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष तिवारीले एकबर्षभित्र वडा भवन तयार हुने बताएका छन्। शिलान्यास कार्यक्रममा वडा नंबर २६ का छिमेकी वडाहरु १ नंवर वडाका वडा अध्यक्ष भरतलाल श्रेष्ठ, ३ नंर वडाका वडा अध्यक्ष दीपक के.सी. र १६ नंवर वडाका वडा अध्यक्ष मुकुन्द रिजालको सहभागिता रहेको थियो।

२६ वडा भवन निर्माणको लागत अनुमान ६ करोड ४९ लाख १९ हजार ५२६ रुपैयाँ ४९ पैसा भएकोमा प्रतिस्पर्धाबाट के एण्ड के जेभिले करिब ५ करोड रुपैयाँ कबोलमा जिम्मेवारी पाएको हो । करिब ८ आना क्षेत्रफलमा बन्ने साढे ३ तले भवनभित्र ९२०० स्क्वायर फिट ठाउँ हुनेछ। यसको डिजाइन इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले गरेका हुन्।

विसं.२०७२ सालको भूकम्पअघि ठमेलमा वडा कार्यालय थियो । महाभूकम्पको कारण भवन जीर्ण भएपछि लैनचौरस्थित शहीद पार्कको एक छेउमा प्रिफ्याव भवनबाट सञ्चालन हुँदै आएको छ।

Photo By-Chandra Mani Bhattarai/KMC
प्रकाशन मिति–२०७५ साल माघ ३ गते विहीवार।