काठमाडौं। काठमाडौं महानगरपालिका आचार संहिता, कार्यविधि २०७७ र नेपाल भाषा प्रशिक्षण व्यवस्था सम्बन्धि कार्यबिधि २०७७ तर्जुका लागि सैद्धान्तिक सहमति दिएको छ। काठमाडौं महानगरपालिकाको ५३ औं कार्यपालिका बैठकले उक्त सहमति दिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न ५३ औं कार्यपालिकाको बैठकले नवलपरासीको रामग्राम नगरपालिकाले आयोजना गर्ने भगिनी सम्बन्ध स्थापना हस्ताक्षर कार्यक्रममा सहभागी हुन जाने निर्णय गरेको छ । त्यस कार्यक्रममा मेयर शाक्यका साथमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितका अधिकारी सहभागी हुने पनि भनिएको छ ।

यसअघि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय भइसकेको छ । यो नगरसँग हस्ताक्षर भने हुन बाँकी छ । महानगर आचार संहिताले पदाधिकारी, कर्मचारी, महानगरबासी र सेवाप्रदायक (ठेक्केदार कम्पनी / संघ संस्था तथा व्यक्ति) का दायित्वका विषयमा व्यवस्था गर्नेछ । त्यस्तै नेपाल भाषा प्रशिक्षण कार्यविधिले स्थानीय पाठ््यक्रम (नेपाल भाषा) कार्यान्वयनका लागि आवश्यक पर्ने प्रशिक्षण सम्बन्धि व्यवस्था गर्नेछ । बैठकले मंसिर २९ गते मनाइने २६ औं महानगर दिवसका सीमित कार्यक्रम गर्न मेयर शाक्यको अध्यक्षतामा उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्य रहेको मूल समारोह समिति गठन गरेको छ ।

त्यस्तै, जनप्रतिनिधि सम्मानका लागि वडाध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा र कर्मचारी सम्मानका लागि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा ४/४ सदस्यीय समिति गठन गरेको छ । यसै गरी बाजा गुरु सम्मानका लागि सम्पदा तथा पर्यटन समितिलाई जिम्मेवारी दिइएको छ । विगत बर्ष झैं यस बर्ष पनि सुशासन पत्रकारिता पुरस्कार पनि प्रदान गरिने भएको छ ।

बैठकले ककनी गाउँपालिकाको शिवालय मा. वि. का विद्यार्थीहरुलाई सवारी दुर्घटनाको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । विसं.२०७५ साल चैत्र १९ गते फोहोर बोकेर गएको निजी क्षेत्रको सवारी दुर्घटनामा मानवीय क्षति भएको थियो । बैठकले इञ्जिनियर कमलबाबु श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ । श्रेष्ठले स्वास्थ्य र घरायसीकारण देखाउँदै राजीनामा दिएका थिए ।

बैठकमा मेयर शाक्यले कोविड १९ को परीक्षण गराउन महानगरले स्वाब कलेक्सनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको बताउँदै सरकारले जारी गरेका मापदण्ड र जोखिम आवश्यकताका आधारमा वडामा यसको परिचालन गर्न आग्रह गरेका छन्। कमजोर शारीरिक अवस्थाका कारण स्वास्थ्य संस्थामा जान नसक्ने व्यक्तिहरुका लागि मोवाइल भ्यान प्रभावकारी हुने मेयर शाक्यले दावी गरेका छन् ।


प्रकाशन मिति–२०७७ साल मंसीर ८ गते सोमवार ।