काठमाडौं। काठमाडौँ महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने भएको छ। गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले सोमवार काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीलाई शौचालय अध्ययन प्रतिवेदन बुझाएको छ।

उक्त अध्ययन प्रतिवेदनमा काठमाडौं महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने उल्लेख गरिएको हो।

प्रतिवेदनमा हाल ५८ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेको तथ्यमा टेकेर भएका शौचालयको अवस्था परिवर्तन तथा सुविधा थप गरेर तत्काल महसुस गर्न लायक सुधार आउने उल्लेख छ । महानगरभित्रका व्यावसायिक भवन (सपिङ कम्प्लेक्स र मल) मध्ये ६७ वटामा सार्वजनिक शौचालय सञ्चालन गर्न सम्भव छ।

कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन विश्वविद्यालयजस्ता निकायसँग समन्वय गर्दा १२ वटा शौचालय थप गर्न सकिने देखाइएको छ भने आयल निगमले सञ्चालन गरेको पेट्रोल पम्पमा ७२ वटा शौचालय थप्न सकिने प्रतिवेदनमा भनिएको छ। कार्यदलले महानगरका ५७ स्थानमा शौचालय राख्न सकिने सम्भावना देखाएको छ।

टेकु चोक, सानेपा पुल, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजु, माछापोखरी, गोङ्गबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी क्षेत्रमा पहिलो चरणमा सार्वजनिक शौचालयको निर्माण काम गर्नुपर्ने स्थानका रुपमा सिफारिश भएका छन् ।

यससँगै गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिश छन् । यीबाहेकका स्थानमा दोस्रो चरणमा काम गर्दा हुने भनिएको छ।

प्रतिवेदन बुझाउने क्रममा कार्यदलका संयोजक एवं सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख ध्रुवकुमार काफ्लेले अहिले चलेका कतिपय शौचालयमा पानी, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, प्रकाशको व्यवस्था नभएको, महिलालाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको देखिएको उल्लेख गर्दै यी आधारभूत सुविधा नियमन गर्नसके मात्रै पनि तत्काल सुधार देखिने बताएका छन्।

यसैक्रममा सर्वाधिकार संपन्न सार्वजनिक शौचालय अध्ययन तथा निर्माण कार्यदलकी प्र्मुख काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीका साथमा काठमाडौं महानगरपालिका वडा नंबर १५ का वडा अध्यक्ष तथा प्रवक्ता ईश्वरमान डंगोल र काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हूच्छेकाजी महर्जनले काठमाडौं महानगरपालिकाभित्रका चालु सार्वजनिक शौचालयको बस्तुगत अवस्थाको बारेमा स्थलगत निरीक्षण भ्रमण पनि गरेका थिए।

स्थलगत निरीक्षण भ्रमणका क्रममा सार्वजनिक शौचालयमा सुधार गर्नुपर्ने कुराहरुको निर्देशन समेत जारी गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल माघ २१ गते सोमवार ।