काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा अव नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ। हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै काठमाडौं महानगरपालिका कार्यालयले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो।

विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाइएको काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जनाएको छ। विभागका अनुसार हाल काठमाडौं महानगरमा ९१ सार्वजनिक र ६ सय ४३ संस्थागत विद्यालय सञ्चालनमा छन्।

यी विद्यालयमा १ लाख ६५ हजार विद्यार्थी अध्ययनरत छन्। यसमध्ये १ लाख ५८ हजार ९ सय ७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन्। कानूनी रूपमा नै विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै काठमाडौं महानगरले यस्तो व्यवस्था गरेको हो।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख निर्मला केसीका अनुसार नयाँ विद्यालय सञ्चालन गर्नुभन्दा पनि भएकालाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेकाले यस किसिमको कार्य अघि बढाइएको हो।
प्रकाशन मिति–२०७६ साल कात्तिक २१ गते विहीवार।