काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । काठमाडौं महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।

विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार गएका बर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या आएका थिए। यी बाहेकका क्षेत्रमा पनि समस्या नहोलान् भन्न सकिन्न । यसपाली सक्रिय मनसुन छ ।

त्यसैले नदी आसपास क्षेत्रमा सावधानी अपनाउन जरुरी भएको कारण महानगरपालिका यसतर्फ सचेत बनेको छ। अहिले अनामनगर, सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र पूर्वाधारका माग आएका छन् ।

(विसं.२०७४ साउन २९ गते राती धोवी खोलामा बाढी आएर अनामनगर बस्तीमा प्रवेश गरेपछि साउन ३० गते लिइएको तस्बीर हो। तस्बीर सौजन्य–काठमाडौं महानगरपालिका)

ती क्षेत्रमा नदीको बहाव खुकुलो बनाएर निर्वाध जलप्रवाह कायम गराउने काम भएको विभागिय प्रमुख श्रेष्ठले भनेका छन्। यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्पहरु, त्रिपाल, भ-याङ्, डोरीलगायत सामाग्री तयारी अवस्थामा राखिएको छ। सम्भावित विपद व्यवस्थापन गर्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वयमा काम गर्ने तयारी भइरहेको छ । यस्तै दमकललाई तैनाथ गरिएको छ ।

विभागीय प्रमुख श्रेष्ठले काठमाडौँ महानगरका कुनै पनि ठाउँमा बाढी वा अन्य विपद भयो भने सम्बन्धित टेलिफोनसहित आफ्नो मोवाइल नं. ९८५१० २४३०५ मा सम्पर्क गर्न अनुरोध पनि गरेका छन्।। आफूहरु तत्काल विपद व्यवस्थापनमा खट्ने श्रेष्ठले भने ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सराजुकुमार बैद्यकाअनुसार यो बर्ष जुन ११ (जेठ २८ गते) बाट मनसुन सुरु भएको छ । अन्य बर्षहरुको मनसुन सुरु हुँदा यति सक्रिय हुँदैनथ्यो । यस बर्ष शुरुवातबाट नै सक्रिय छ । वैद्यले आज शनिवार न्युनचापीय रेखा नेपालको सिमानामा भएकोले बागमती प्रदेशसहित, प्रदेश नं. १, २, गण्डकी र लुम्विनी प्रदेशमा बर्षा भइरहेको छ । क्षेत्रमा भारी बर्षासहित चट््याङ् पर्ने सम्भावना छ । यो भोलिसम्म रहन्छ । त्यसपछि पश्चिमतर्फ सर्दै जानेछ ।

प्रकाशन मिति–२०७८ साल असार १२ गते शनिवार ।