काठमाडौं। काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप नौ वटालाई एक/एक करोड रुपैया उपलब्ध गराउने भएको छ।

शुक्रवार बसेको २९औँ महानगरको बोर्ड बैठकले नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका नगरपालिकाहरुको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि प्राप्त प्रस्तावका आधारमा उक्त रकम उपलब्ध गराउने भएको हो।


यसै कार्यक्रमअन्तर्गत गत असार २० गते टोखा नगरपालिकालाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि रु एक करोड प्रदान गरिसकेको छ । अब टोखाबाहेकका अन्य नगरपालिकालाई आइतवार रकम दिइने भएको छ ।

शुक्रवारकै बैठकले अन्तर सरकार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुमोदन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भिजन संसार डटकमलाई बताएका छन्। बैठकले पर्यटन वर्ष–२०२० लाई सफल बनाउन सम्पदा समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा १७ सदस्यीय समिति पनि गठन गरेको छ।

समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख रहने व्यवस्था गरिएको छ। त्यस्तै भवन निर्माण मापदण्ड पुनरवलोकन गर्न प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।

समितिको सदस्यहरुमा वडाध्यक्ष मुकुन्द रिजाल, शशिलाल श्रेष्ठ, मोहन बिष्ट र चिनियाँमान बज्राचार्य रहेका छन्। शहरी सुरक्षाका लागि सिसी क्यामरा जडान गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने र यसका लागि प्रहरीलाई रु तीन करोड उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ।
प्रकाशन मिति–२०७५ साल माघ २५ गते शुक्रवार ।