काठमाडौं। काठमाडौंको नाम, पहिचान र शानको प्रतिक महाभूकम्पवाट ध्वंस्त भएको काष्ठमण्डपको पूर्नरनिर्माणमा विदेश र विदेशीसंग एक सुक्का पनि सहयोग नलिने भएको छ। काठमाडौं महानगरपालिकाले सवै निर्माण गर्ने घोषणा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका छन्।

काष्ठमण्डपको पूर्नरनिर्माण गर्न कुनैपनि विदेशी सहयोगको लागि हात नथाप्ने र काष्ठमण्डपन निर्माण गर्न काठमाडौं महानगरपालिका आफै सक्षम भएको दावी पनि मेयर शाक्यको रहेको छ। काष्ठमण्डप पूर्नरनिर्माणका लागि काष्ठमण्डप पूर्नरनिर्माण समितिलाई सिड मनीको रुपमा ५० लाख रुपैया प्रदान गरिसकेको छ। थप ५ करोड रकम समितिका अध्यक्ष तथा ३ नंबर प्रदेशका प्रदेश सभासद राजेश शाक्यलाई मेयर शाक्यले शनिवार आयोजित कार्यक्रममा हस्तान्तरण गरेका छन्।

हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा प्रमुख मेयर बिद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रकमको चेक हस्तान्तरण गरेको हो। महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेश सभासद राजेश शाक्यको नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गत जेठ २९ गते काम थालनी भएको हो।

सिडमनी ५० लाखवाट काष्ठमण्डपको प्रारम्भिक काठ किन्ने लगायतका काम भइसकेकाले थप कार्यका लागि थप रकम ५ करोड प्राप्त भएको सभासद राजेश शाक्यले भिजन संसार डटकमलाई बताएका छन्। काष्ठमण्डप पूर्नरनिर्माणको लागि १८ करोड अनुमानित लागत भएको पनि सभासद शाक्यले भनेका छन्।

काष्ठमण्डप पूर्नरनिर्माणको अलावा काठमाडौं महानगरपालिकाले नेपालको जीवित देवीको नामवाट विश्वमा चर्चा पाएको कुमारीको कुमारीघरको पूर्नरनिर्माण या सुधारका बारेमा प्राविधिक परीक्षण भैरहेको मेयर शाक्यले भनेका छन्।

काठमाडौं महानगरपालिका वडा नंबर २३ का वडा अध्यक्ष मचाराजा महर्जनले बसन्तपुर क्षेत्रमा सम्पदा पुनर्निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भइसकेको जनाउँदै काम नसकिएको तर भूकम्पले क्षति पुगेका सम्पदाको जीर्णोद्वार, पुनर्निर्माण तथा मर्मत सम्भारको काम भइरहेको बताएका छन्। हनुमानढोका दरबार क्षेत्रसँग काठमाडौं महानगरपालिकाका १९, २०, २३ र २४ गरी ४ वटा वडा जोडिएका छन्।

यी ४ वटा वडाका ७३ वटा योजनाका विषयमा जानकारी गराउँदै वडाध्यक्ष महर्जनले १८ वटा योजना सम्पन्न भएको, १२ वटा काम हुँदै गरेको, ६ वटाको काम हुन बाँकी, ५ वटा खरिद प्रक्रियामा रहेको, ७ वटा परातत्व विभागसँग समन्वय भइरहेको, १६ वटाको लगत अनुमान र नक्सा तयार हुँदै गरेको प्रगति विवरण पेश गरेका छन्।

Photo By- Budha Sharan

प्रकाशन मिति–२०७५ साल असोज २७ गते शनिवार ।